तानसेन समाचारदाता
पाल्पा, भदौ ४ गते । आँखा पाक्ने समस्या लिएर उपचारका लागि आँखा अस्पताल तथा निजी क्लिनिकमा धाउने बिरामीको सङ्ख्या दिनप्रतिदिन बढेको स्वास्थ्यकर्मीले बताएका छन्।
विद्यालयमा अध्ययनरत बालबालिकामा यो समस्या बढी देखिएको आँखा अस्पतालले जनाएका छन्। आँखा अस्पताल तथा अन्य अस्पतालमा आउने बिरामीमध्ये अधिकांश बिरामीमा आँखा पाक्ने समस्या देखिएको लायन्स लाकौल आँखा अस्पतालका सूचना अधिकारी जीवनाथ गैरेले जानकारी दिनुभयो।
उहाँले भन्नुभयो, “अस्पतालमा आँखाको उपचारका लागि आउने बिरामीमध्ये ६० प्रतिशतभन्दा बढी बिरामीमा आँखा पाक्ने समस्या देखिएको छ।” सुरुका दिनमा विद्यार्थीमा मात्र आँखा पाक्ने समस्या थियो, अहिले सबै उमेर समूहका मानिसमा आँखा पाक्ने समस्या देखिएको उहाँले बताउनुभयो।
भिडभाडमा सहभागी हुने मानिसमा आँखा पाक्ने समस्या बढी देखिएको आँखा अस्पतालको भनाइ छ। पाल्पामा पछिल्लो एक सातामा दुई हजार ४९७ बिरामी आँखा उपचारका लागि आएकामा एक हजार २२२ जना आँखा पाक्ने समस्या लिएर आएको सूचना अधिकारी गैरेले बताउनुभयो।
आँखा पाक्ने समस्या भएका बिरामीको अकस्मात् आँखा रातो हुने, आँखाको डिल सुन्निएर हेर्न समस्या हुने गरेको छ। यस्तै आँखाबाट पानी बगिरहने, आँखा चिलाउने, पोल्ने र बिझाउने, आँखामा पहेँलो चिप्रा आउने, बिहान उठ्दा ढकनी एकआपसमा टाँसिएर आँखा खोल्न गाह्रो हुनेलगायतका समस्या देखिएको पाल्पा अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. विवेक भण्डारीले बताउनुभयो।
यसैबिच आँखा पाक्ने समस्या बढेपछि औषधीको अभाव देखिएको छ। आँखा पाक्ने समस्याका लागि दिइने औषधीको अभाव भएको बिरामीले गुनासो गरेका छन्। आँखा पाक्ने समस्या बढ्दै गएपछि औषधीको अभाव भएको तानसेनस्थित सन्चो क्लिनिकका सञ्चालक डा. झपेन्द्र ढकालले बताउनुभयो।
विद्यालयका विद्यार्थीमा आँखा पाक्ने समस्या बढ्दै गएपछि विद्यालय सञ्चालकले पठनपाठन एक साताका लागि बन्द गर्नुपर्ने माग गरेका छन्। तानसेनस्थित भुसालडाँडा माविका शिक्षक सुन्दर श्रेष्ठले अधिकांश विद्यार्थीमा आँखा पाक्ने समस्या बढेकाले विद्यालय बन्द गर्नुपर्ने माग गर्नुभयो।