अमरराज नहर्की
तनहुँ, भदौ ४ गते । नेपाली समाजमा छोरीले शव बोक्न तथा काजकिरिया गर्नु हुँदैन भन्ने सोच अहिले पनि कायम छ। यो सोचलाई दमौलीका महिलाले तोडेका छन्। दमौलीस्थित वेदव्यास ज्येष्ठ नागरिक आश्रममा आबद्ध महिलाले यस्तो हिम्मत गरेका हुन्। शव बोक्ने र दाहसंस्कारमा यहाँका महिला सहभागी हुने गरेका छन्।
आश्रममा आश्रित ज्येष्ठ नागरिकको निधन भएपछि शव बोकेर घाट लैजाने र दाहसंस्कारसमेत महिलाले नै गर्दै आएका छन्। उक्त आश्रममा बस्दै आउनुभएका ९२ वर्षीय टोलबहादुर थापाको बिहीबार निधन भएपछि महिलाले शव बोकेर दमौली घाटसम्म पु-याएका हुन्। आश्रमकी कार्यवाहक अध्यक्ष शकुन्तला आलेले म्याग्दे गाउँपालिका–६ स्थायी घर भएका थापाको निधन भएपछि महिलाले शव बोकेर घाटमा पु-याएको जानकारी दिनुभयो।
छोरीले शव बोक्न हुँदैन भन्ने पुरानो मान्यता तोड्दै यहाँका महिलाले आश्रममा आश्रित आमा तथा बुवाको मृत्युपश्चात् पालो पालो शव बोकेर घाटमा पु-याउँदै आएको उहाँले बताउनुभयो। आलेले भन्नुभयो, “अहिले पनि समाजमा छोराले मात्रै शव बोक्नु पर्छ, काजकिरिया गर्नु पर्छ भन्ने गरेका छन्। छोरी मात्रै हुने घरले छोरा नखोजून् भन्ने सन्देश दिन शव बोक्ने गरेका हौँ।”
आठ वर्षअघि ९० वर्षीय आइतुमाया थापाको मृत्यु भएपछि पहिलो पटक आश्रमकी अध्यक्ष सावित्री श्रेष्ठलगायत संस्थामा आबद्ध महिलाले शव बोकेका थिए। हालसम्म आश्रममा आश्रित आठ जनाको मृत्यु भइसकेको छ। मृत्यु भएका सबैको महिलाले नै शव बोकेर लैजाने गरेका छन्।
आश्रमकी सचिव निर्मला मल्लले आफ्नो बुवा र आमाजस्तै गरी पालनपोषण गर्दै आएकाले उनीहरूलाई सन्तानले गर्नुपर्ने कर्तव्य पूरा गर्नु पर्छ भन्ने सोचेर मृत्युपछि आलोपालो सबैले बोकेर घाटमा लैजाने गरेको बताउनुभयो। पितृसत्तात्मक सोचको अन्त्य गर्न महिला जागरुक बनेर यस क्षेत्रमा लाग्दै आएको सचिव मल्लले बताउनुभयो । ‘मन्त्र जप्ने ओठभन्दा सेवा गर्ने हात पवित्र हुन्छ’ भन्ने भावना बोकी २०७० सालमा महिलाले चन्दा सङ्कलन गरी व्यास नगरपालिका–५, चापाघाट, दमौलीमा सहाराविहीन ज्येष्ठ नागरिकका लागि आश्रम सञ्चालन गरेका थिए।