• १३ साउन २०८१, आइतबार

थारु समुदायले गुरही पर्व मनाउँदै

blog

गुरही पर्वमा रमाउँदै । तस्बिर: गोरखापत्र

अविनाश चौधरी

धनगढी, भदौ ४ गते । पश्चिमवासी थारु समुदायमा आज गुरही पर्व मनाइँदै छ । विभिन्न ठाउँमा नाचगानसहित गुरही पर्व मनाउन लागिएको हो । 

गुरही बालबालिकासँग सम्बन्धित पर्व रहे पनि पछिल्लो समय युवायुवतीसहित सबै उमेरका व्यक्तिले मनाउने गरेका छन् । यो पर्वमा कपडाको गुरहा गुरही (गाइने किरा) बनाएर अपराह्नतिर चउर वा चौबाटोमा सेलाउने चलन रहेको छ । 

बालिका वा केटीहरूले गुरहीसहित घुघ्री (मकै, केराउ वा चनाको भुजा) फाल्ने गर्दछन् । फालिएको गुरहीलाई सोंता वा लट्ठीले बालक, केटाहरूले ‘दे घुघ्री दे घुघ्री’ भन्दै ठटाउने÷पिट्ने चलन रहेको छ । यसलाई स्थानीय भाषामा गुरही अस्रैना भनिन्छ । 

गुरही पर्व मनाउनाले बालबालिकालाई रोगव्याधीबाट छुटकारा मिल्ने जनविश्वास रहेको छ । यसै गरी, उनीहरूलाई आँखा पाक्ने, ज्वरो आउने जस्ता समस्या नहुने विश्वास गरिन्छ । गुरहीलाई ठटाउनु, पिट्नुको अर्थ रोगव्याधीलाई पिटेर गाउँबाट धपाएको बुझिन्छ । 

हरेक थारु गाउँमा पहिलो पर्वको रूपमा मनाइने गुरहीलाई २०६७ सालबाट धनगढीमा संस्थागत रूपमा पनि मनाउँदै आएको सखी सञ्जाल कैलालीका अध्यक्ष उन्नति चौधरीले बताउनुभयो । उहाँका अनुसार नयाँ पुस्तालाई संस्कृति हस्तान्तरण गर्ने उद्देश्यका साथ संस्थागत रूपमा गुरही पर्व मनाउन थालिएको हो । गुरहीको अवसर पारेर धनगढीस्थित गुरही चौकमा गुरहीको मूर्ति शिलान्यास गरिने जनाइएको छ । 

गुरही पर्वको अवसरमा आज कैलालीको तराई क्षेत्रका सबै स्थानीय तहले स्थानीय बिदा दिएका छन् ।