• २० वैशाख २०८१, बिहिबार

सम्मान तथा पुरस्कार प्रदान

blog

काठमाडौँ, भदौ ४ गते । पन्त स्मृति प्रतिष्ठानको आयोजना तथा नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति आचार्य पूर्णचन्द्र ढुङ्गेलको प्रमुख आतिथ्यमा विभिन्न विधामा विशिष्ट योगदान गर्ने प्रतिष्ठित व्यक्तित्वलाई सम्मान तथा पुरस्कार अर्पण गरिएको छ । प्रतिष्ठानको वार्षिक मुखपत्र ‘नवज्योति’ को पनि लोकार्पण गरिएको छ ।

सम्मानित एवं पुरस्कृत हुने व्यक्तिमा ‘ओताओडा’ उपन्यासकी लेखिका जानुका खतिवडा (रु. २५ हजार), हास्यव्यङ्ग्य विधामा योगदान गर्ने शैलेन्द्र सिम्खडा (रु. ५० हजार), चित्रकला विधामा योगदान गर्ने रूपक राई (रु. २५ हजार), साहित्यिक पत्रकारितामा योगदान गर्ने ‘शिवपुरी सन्देश’ का सम्पादक वियोगी बुढाथोकी (रु. ५० हजार), संस्कृति विधामा योगदान गर्ने शशी थापा पण्डित (रु. १५ हजार) नेपाली समालोचना विधामा योगदान गर्ने प्राडा भागवत ढकाल (रु. १० हजार), सुस्तश्रवण भएर पनि सम्बन्धित संस्थामा विशिष्ट योगदान पु-याउने कोपिला हुमागाईं (रु. १० हजार), बालसाहित्यको क्षेत्रमा योगदान गर्ने गोपाल पराजुली (रु. १० हजार) र विद्यालयस्तरीय बालनृत्यमा उत्कृष्ट प्रदर्शन गर्ने सीता बराल (रु. १० हजार) रहेका छन् । 

कार्यक्रममा प्रमुख अतिथि ढुङ्गेलले नेपाल राष्ट्र कहिल्यै कसैको गुलाम नभएको र यसको केही श्रेय ‘पन्त’ लाई पनि जाने बताउनुभयो । पन्तहरू सधैँ राष्ट्रभक्त भएर नेतृत्व पक्षलाई आवश्यक सल्लाह र सहयोग उपलब्ध गराउँदै आएको हाम्रो इतिहास साक्षी रहेको उहाँको भनाइ छ ।  संस्थाकी अध्यक्ष इन्दु पन्तको सभापतित्वमा सम्पन्न वार्षिकोत्सव कार्यक्रममा पुरस्कृत व्यक्तित्वले आआफ्ना सङ्क्षिप्त भावना व्यक्त गर्नुका साथै नृत्याङ्गनाले नृत्य प्रदर्शन गर्नुभएको थियो ।