• २९ असार २०८२, आइतबार

तामाङ कथाको सँगालोमाथि अन्तर्क्रिया

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, असार २९ गते । तामाङ समुदायको इतिहास, भूगोल, सभ्यता र संस्कृति बुझाउने तामाङ लोककथालाई नयाँ पुस्तालाई हस्तान्तरण गर्न नयाँ प्रविधिको उपयोग हुनुपर्नेमा जोड दिइएको छ । तामाङ पत्रकार सङ्घद्वारा शनिबार राजधानीमा लेखक, सङ्कलकद्वय रवीन्द्र तामाङ र सोनी तामाङको तामाङ कथाको सँगालोबारे आयोजित अन्तर्क्रियामा सहभागी वक्ताहरूले सो कुरा बताएका हुन् । 

साहित्यकार फूलमान वलले अहिलेका पुस्ताले पुस्तक पढ्दैनन्, तामाङ समुदायको सभ्यता, इतिहासबारे नयाँ पुस्तालाई बताउने हो भने कथालाई नाटक, चलचित्र र कार्टुनमा परिणत गरी हस्तान्तरण गर्नुपर्ने बताउनुभयो । 

पद्मकन्या कलेजका सहप्राध्यापक विमला नेपालले तामाङ लोककथा सँगालोमा सङ्कलन भएका लोककथाहरू छोटा, मिठा, सरल शैलीमा छन् भन्दै यसलाई  परिमार्जित गरी पाठ्यक्रममा राख्न सकिने विचार व्यक्त गर्नुभयो । उहाँले लेखकद्वयले लोककथा सँगालोमा धार्मिक, ऐतिहासिक र सामाजिक कथालाई सङ्कलन गरी समाजको बृहत् पाटोलाई अभिलेख राख्न योगदान दिएको पनि बताउनुभयो ।

लेखक बिना थिङले तामाङ समुदायका पाका व्यक्तिहरूले साँझ बिहान अगेनाको छेउछाउ बसेर आगो ताप्ने बेलामा साना बालबालिकालाई सुनाउँदै आएका उक्त लोककथाहरूले समुदायको संस्कृति, धार्मिक र ऐतिहासिक पक्षको उजागर गर्ने बताउनुभयो । लेखक एवं उपप्राध्यापक कुमारी लामाले तामाङ लोककथाका सँगालोमा २३ वटा तामाङ कथा छन्, जसले तामाङ समुदायको इतिहास, संस्कृतिका अभिन्न अङ्गहरू डम्फु, पेङदोर्जे, प्रकृति, पर्यावरणका प्रशस्त प्रसङ्ग उल्लेख गरिएको बताउँदै आदिवासी प्रकृतिका कति नजिक छन् भन्ने तथ्यसमेत उजागर भएको बताउनुभयो । 

लेखक सोनी तामाङले तामाङ लोककथा सँगालोमा सङ्कलन गरिएको ‘नाक थेप्चो स्याल’ शीर्षकको कथा वाचन गर्दै लोककथाहरू पहिलो पुस्ताले दोस्रो र तेस्रो पुस्तालाई सुनाउँदै आएका कथाहरू हुन्, यो लोकको कथा हुन्, भन्नुभयो । तामाङ पत्रकार सङ्घका वरिष्ठ उपाध्यक्ष तीर्थमान बलले तामाङ लोककथाले युगौँदेखिका तामाङ सभ्यता, संस्कृति र इतिहासका कुरालाई कथाका रूपमा वाचन गर्दै आएको बताउनुभयो  ।