• २४ पुस २०८१, बुधबार

‘वर्तमान सरकारप्रति जनताको आशा पलाएको छ’

blog

प्रतिनिधिसभाका पूर्व सभामुख अग्निप्रसाद सापकोटासहित अन्य नेताहरू : गोरखापत्र

कीर्तिपुर, भदौ ३ गते । प्रतिनिधिसभाका पूर्व सभामुख अग्निप्रसाद सापकोटाले वर्तमान सरकारप्रति जनताको आशा पलाएको बताउनुभएको छ ।

आइतबार यहाँस्थित ‘जनतासँग माओवादीको विशेष रुपान्तरण अभियान’ विषयमा कीर्तिपुर नगरपालिकाको बैठकमा उहाँले सो धारणा राख्नुभएको हो ।

उहाँले विकास, समृद्ध, सुशासन, सामाजिक न्यायको लागि अगाडि बढिरहेको अवस्थामा कृषिको यान्त्रिकिकरण, आधुनिकीकरण, औद्योगिकिकरण र बजारिकरणलाई बढावा दिन आवश्यकतामा जोड दिनुभयो । 


नेकपा (माओवादी केन्द्र) का केन्द्रीय उपाध्यक्ष मेत रहनुभएका पूर्वसभामुख सापकोटाले सरकारले एकपछि अर्को राम्रा कामहरुको थालनी गरेकाले जनता उत्साहित भएको बताउनुभयो ।

‘सरकारले धेरै राम्रा काम गरिरहेको छ, जनताको मन जित्न सक्यो भने सबै आन्दोलनका उपलब्धीहरु संस्थागत गर्न सकिन्छ ’ उहाँले भन्नुभयो, जनताका चित्त दुखाउनुु हुन्न भन्ने हाम्रो संकल्प रहेको छ ।’

नेपालमा अहिले ‘शीतयुद्ध’ घनिभूत रुपमा चलिरहेको बताउनुहुँदै उहाँले आउँदा दिनहरुमा विभिन्न खालका तुफान आउन सक्ने संकेत गर्नुभयो ।

उपाध्यक्ष सापकोटाले सरकार र पार्टीविरुद्ध विभिन्न प्रकारका षड्यन्त्र भइरहेको जनाउनु हुँदै राष्ट्रियताको लागि लड्न आफ्नै जगमा उभिनुपर्ने धारणा राख्नुभयो ।

उहाँले विगतमा लडेको जनयुद्धमा भन्दा पृथक रुपमा अहिलेको सूचना प्रविधि र सामाजिक सञ्जाललाई भरपुर प्रयोग शान्तिपूर्ण रुपमा अभियानलाई सशक्त पार्न आवश्यकतामा जोड दिनुभयो ।

कीर्तिपुरमा २२ वर्षपछि आएको बताउनु हुँदै पूर्वसभामुख अग्निप्रसाद सापकोटाले यस क्षेत्रको वृहत विकास योजना गर्न सकिने धारणा राख्नुभयो ।

नगरको विस्तारित बैठकमा केन्द्रीय अनुशासन विभागका सदस्य ओपेन्द्र शर्माले हालै बसेको केन्द्रीय समितिको बैठकको सर्कुलर वाचन गर्नुभएको थियो ।

नगरका १० वटा अध्यक्षले रिपोर्टिङ गरिएको सो बैठकका सभापति दिलबहादुर महर्जन र नगरसचिव दयालक्ष्मी महर्जनले सञ्चालन गर्नुभएको थियो ।