अर्जुन काफ्ले
स्याङ्जा, भदौ ३ गते । भीरकोट नगरपालिका–८ ले सुत्केरी आमालाई लोकल कुखुराको भाले र बच्चालाई न्यानो कपडा दिन थालेको छ । वडाको “सुत्केरीलाई पोषण र परामर्श सेवा” कार्यक्रम अन्तर्गत वडाका जनप्रतिनिधि, वडा सचिव स्वास्थ्य चौकीका प्रमुख र अनमी, आमा समूहका प्रतिनिधि सुत्केरी आमाको घरमै पुगेर सो सामग्री दिन थालिएको हो ।
वडाले सुत्केरी आमाहरू शालीकोषकि सावित्री सुनार र माझखर्ककि कुसुम खनाललाई कुखुराको भाले र अन्य पोषण सामग्री दिएर कार्यक्रमको शुभारम्भ गरेको हो । वडा अध्यक्ष नन्दलाल खनालले घरमै पुगेर स्वास्थ्यकर्मीले आमा र बच्चाको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिई आवश्यक स्वास्थ्य सेवा र परामर्श दिने र जनप्रतिनिधिले सुख, दुःख र अन्य समस्याका बारेमा परामर्श दिएको बताउनुभयो ।
उहाँले “सुत्केरीलाई पोषण र परामर्श सेवा” कार्यक्रम कार्यान्वयन गर्न वडाले एक लाख रुपियाँ बजेट छुट्याएको बताउनुभयो । कार्यक्रममा सँगै खटिने वडा सचिवले जन्मदर्ताका लागि आवश्यक पर्ने कागजात जुटाउने र जन्मदर्ता गर्ने खनालले बताउनुभयो ।
यो कार्यक्रम बालमैत्री भीरकोट अभियानलाई सार्थकता दिन अगाडि सारिएको वडा अध्यक्ष खनालको भनाइ छ । वडामा औसत रूपमा ३५ जना महिला सुत्केरी हुनेगरेको वडा कार्यालय र स्वास्थ्य संस्थाको तथ्याङ्कले देखाएको बताउँदै खनालले बजेटले अधिकतम ५० जना सम्मलाई पोषण सुविधा दिन सकिने बताउनुभयो ।
यसअघि नै नगरपालिकाले नियमित रूपमा स्वास्थ्य संस्थामा गर्भ परीक्षण गराउने, स्वास्थ्य संस्थामै बच्चा जन्माउने र ३५ दिनभित्रै जन्मदर्ता गराउने आमालाई पोषण भत्ताबापत ५ हजार रुपियाँ दिंदैआएको छ । गत आव २०७९–८० मा मात्रै १९४ जना सुत्केरी आमाले पोषण भत्ताबापतको सुविधा लिनु भएको थियो ।