• १३ मंसिर २०८१, बिहिबार

प्रधानमन्त्री प्रचण्ड र एसिया रग्बीका अध्यक्ष कायसबीच छलफल

blog

एसिया रग्बीका पदाधिकारीसँग भेट गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ।

काठमाडौं, भदौ ३ गते । राष्ट्रिय खेलकुद परिषद्का संरक्षक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एसिया रग्बीका अध्यक्ष कायस अल धलाईबीच भेटवार्ता भएको छ । आइतबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा नेपालमा रग्बी खेल विकासका विषयलाई लिएर छलफल भएको हो । 

सो अवसरमा एसिया रग्बीका अध्यक्ष कायसले नेपाल सरकारले रग्बी खेल विकासमा गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो । साथै नेपाल रग्बी सङ्घले लगातार दुई वर्ष एसिया रग्बीको अन्तर्राष्ट्रिय प्रतियोगिता गरिरहेको र उक्त आयोजना सरकारको सहयोग बिना सम्भव नभएको कायसले धारणा राख्नुभएको थियो । 

‘‘नेपालले पछिल्ला समय रग्बीमा विकास गरेको छ । सरकारको सहयोग बिना त्यो सम्भव थिएन । एसिया रग्बीको तर्पmबाट धन्यवाद दिन चाहन्छौं,’’ कायसले भन्नुभयो । 

प्रधानमन्त्री दाहालले नेपाललाई विश्वास गरेर लगातार दुई प्रतियोगिता आयोजना गर्ने जिम्मेवारी दिएकोमा एसिया रग्बी र अध्यक्ष कायसलाई धन्यवाद दिनुभयो ।

‘‘एसिया रग्बीले नेपाललाई विश्वास गरेर दुई प्रतियोगिता आयोजन गर्ने जिम्मेवारी दिएकोमा धन्यवाद दिन चाहन्छु । हाम्रो सरकार र मेरो प्राथमिकतामा नै खेलकुद र युवाहरूको विकास गर्नेतर्फ थियो । त्यहीअनुसार नै अन्य खेलसँगै रग्बीको विकासमा पनि सरकारले सहयोग गरिरहनेछ,’’ प्रधानमन्त्री दाहालले भन्नुभयो । 

उक्त अवसरमा विश्व रग्बी युनियनका एसियाका लागि पार्टनरसिप म्यानेजर रिड्ज्याल स्याट, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङ र नेपाल रग्बी सङ्घका अध्यक्ष दीपक देवकोटाको पनि उपस्थिति थियो ।