• ११ मंसिर २०८१, मङ्गलबार

काठमाडौँ–कलिङ साहित्य महोत्सवको घोषणा

blog

काठमाडौँ, भदौ ३ गते । काठमाडौँ–कलिङ साहित्य महोत्सवको दोस्रो संस्करणको घोषणा भएको छ। गत वर्षदेखि आरम्भ भएको यो महोत्सव भदौ १५ देखि १७ गतेसम्म काठमाडौँमा आयोजना हुने छ। नेपाल, भारत, भुटान, बङ्गलादेश र श्रीलङ्कालगायत देशका साहित्यकारहरू जमघट हुने यो अन्तर्राष्ट्रिय महोत्सव यशस्वी प्रज्ञा प्रतिष्ठान, नेपाल र कलिङ लिटररी फेस्टिभल (केएलएफ) भारतको संयुक्त आयोजनामा हुँदै छ।

आयोजकद्वारा जारी प्रेस विज्ञप्तिमा महोत्सवमा विभिन्न देशका तीन सयभन्दा बढी लेखकको सहभागिता रहने जनाइएको छ। महोत्सवमा दक्षिण एसियाका कला, साहित्य, सङ्गीत, सिनेमा, नृत्य, कविता, पत्रकारिता, पर्यटन, राजनीतिलगायत समसामयिक विषयमा प्रस्तुति र चर्चा परिचर्चा चल्ने छ। महोत्सवमा भारतबाट पद्मश्री हलधर नाग, पद्मश्री सुदर्शन पटनायक, पद्मश्री नीला माधव पाण्डा, पद्मश्री अरुणा मोहन्ती, पद्मश्री अरुणा मोहन्ती जस्ता दिग्गजहरू सहभागी हुने छन्। यस्तै प्रख्यात अभिनेतृ तथा लेखिका दिव्या दत्त, दीप्ति नवल, हरहर शम्भो फेम गायिका अभिलिप्सा पाण्डा कार्यक्रमका मुख्य आकर्षणका रूपमा रहेका छन्। बलिउड सिनेमामा अभिनय गरेर ख्याति कमाएकी अभिनेतृ मनीषा कोइराला पनि महोत्सवको अर्को आकर्षण बन्नुहुने छ। मनिषाका साथमा नेपालबाट सुरक्षा पन्त, गौरी मल्ललगायत अभिनेतृहरू महोत्सवमा सहभागी हुँदैछन्।

त्यसै गरी भुटानका रिन्झिन रिन्झिन, श्रीलङ्काका चमल सञ्जीवा, बङ्गलादेशका अशरफ ज्वेलसमेत वक्ताको भूमिकामा उपस्थित हुने छन्। नयनराज पाण्डे, अमर न्यौपाने, अभि सुवेदी, चिरिबाबु महर्जन, गुरुराज घिमिरे, विद्या अधिकारी, सुमना श्रेष्ठ, काशीनाथ तमोट, चरिमाया तामाङ, शिवानी थापा, सिके लाल, महेशविक्रम शाह, रजनी ढकाल, गीता त्रिपाठी, मनीषा गौचन, आरती चटौत, त्रिरत्न मानन्धर, सृच्छा प्रधान, भोला रिजाल, नवराज केसी, रामेश कोइराला, हर्क साउदलगायतले विभिन्न सत्रमा वक्ताका रूपमा सहभागिता जनाउने छन्। ‘लघु कथावाचन’ र ‘कलिङ महलफिल’ जस्ता सत्रहरू पनि महोत्सवका रमाइला कार्यक्रम हुन्।

‘शक्ति र भक्ति–सभ्यतागत सम्बन्ध, विश्वव्यापी विचारको केन्द्र नेपाल’ लाई केन्द्रीय स्वर बनाइएको महोत्सवको यसै संस्करणबाट १२ विधामा १२ लेखकलाई यशस्वी पुस्तक पुरस्कार प्रदान गर्ने पनि जनाइएको छ। महोत्सव दक्षिण एसियाली क्षेत्रका सभ्यता, सांस्कृतिक र आध्यात्मिक संवादका साथै साहित्यिक दृष्टिकोणलाई बलियो बनाउने उद्देश्यले सुरु गरिएको हो। दक्षिण एसियाली संवादको केन्द्रीय थलोको रूपमा स्थापित गर्दै महोत्सवले नेपाललाई विश्वव्यापी स्तरमै पहिचान दिने केएलएफकी संस्थापक तथा निर्देशक रश्मी रञ्जन परिडाले विश्वास व्यक्त गर्नुभयो। काठमाडौँ केएलएफकी निर्देशक तथा यशस्वी प्रज्ञा प्रतिष्ठानकी संस्थापक रञ्जना निरौलाले भन्नुभयो, “पहिलो संस्करण जस्तै दोस्रो संस्करणमा पनि नेपालको बृहत् साहित्यिक, सांस्कृतिक तथा आध्यात्मिक परम्पराहरूबारे विश्लेषण गर्ने र विश्वकै सोचको केन्द्रको रूपमा नेपालको यात्रालाई प्रतिविम्बित गर्ने विषयवस्तु समेटेका छौँ।”

‘यशस्वी प्रज्ञा प्रतिष्ठान’ नेपालमा विभिन्न साहित्यिक र सांस्कृतिक गतिविधिलाई प्रवर्धन गर्ने संस्था हो भने ‘कलिङ साहित्य महोत्सव’ भारतको एक अग्रगामी संस्था हो जसले भारतका विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूलाई सम्मान र प्रवर्धन गर्दै आएको छ। सूर्य नेपाल मुख्य प्रायोजक रहेको महोत्सवलाई एलआईसी नेपाल, हिमालय डायरी र यशस्वी प्रज्ञा प्रतिष्ठानले प्रायोजन गरेका छन्।