• ११ असोज २०८१, शुक्रबार

पहिलो महिनामै बाह्र अर्बको वैदेशिक लगानी

blog

काठमाडौँ, भदौ ३ गते  । चालु आर्थिक वर्षको पहिलो महिना (साउन) मा झन्डै १२ अर्ब रुपियाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागको तथ्याङ्क अनुसार चालु आव २०८०/८१ को साउन महिनामा ६० उद्योगमार्फत ११ अर्ब ९३ करोड १८ लाख ३० हजार रुपियाँ लगानीको प्रतिबद्धता आएको हो । आव २०७८/७९ को साउन महिनामा मात्र दुई अर्ब ६४ करोड नौ लाख रुपियाँको वैदेशिक लगानी प्रतिबद्धता आएका थिए । अघिल्लो वर्षको तुलनामा वैदेशिक लगानी प्रतिबद्धतामा चार गुणाले वृद्धि भएको विभागको तथ्याङ्कले देखाएको छ ।

विभागका अनुसार साउनमा ६० वटा उद्योगमा आएको वैदेशिक लगानीमध्ये ५४ साना उद्योग, चार वटा मध्यम किसिमका र दुई वटा ठुला उद्योग रहेका छन् । प्रत्यक्ष वैदेशिक लगानी सबैभन्दा धेरै पर्यटन क्षेत्र, सेवामूलक क्षेत्रका उद्योगमा बढी भित्रिएका छन् । 

वैदेशिक लगानी स्वीकृत भएका ६० उद्योगमध्ये उत्पादनतर्फका चार, सूचना प्रविधितर्फका एक, पर्यटनतर्फका २८, सेवामूलकतर्फका २६ र कृषितर्फका एक रहेका छन् । गत आव अर्थात् अघिल्लो असार महिनामा तीन अर्ब ७१ करोड १५ लाख ५० हजार रुपियाँको वैदेशिक लगानी स्वीकृत भएको थियो । ५४ उद्योगमार्फत सो लगानी स्वीकृत भएको थियो, जसमध्ये ५२ वटा साना र दुई वटा मझौला किसिमका उद्योग थिए ।

विभागको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण शाखाका निर्देशक शङ्करसिंह धामीले ठुला लगानीकर्ता बढेकाले साउन महिनामा वैदेशिक लगानीमा वृद्धि भएको जानकारी दिनुभयो । होटल, पर्यटन, सेवामूलक उद्योगमा लगानी बढी आएको उहाँले जानकारी दिनुभयो । गत वर्ष विदेशी लगानीको सीमा पाँच करोड रुपियाँबाट घटाएर दुई करोडमा झारिएको थियो ।

अघिल्लो आव अर्थात् २०७९/८० मा वर्षभरि कुल ३८ अर्ब ४६ करोड नौ लाख रुपियाँको वैदेशिक लगानी स्वीकृत भएको थियो । गत वर्ष विश्वभर देखिएको आर्थिक मन्दीका कारण वैदेशिक लगानी प्रतिबद्धतामा उल्लेख्य कमी आएको विभागले जनाएको छ । आव २०७८/७९ मा २९३ परियोजनामार्फत ५३ अर्ब ९० करोड रुपियाँको लगानी प्रतिबद्धता आएको थियो । 

सुरुदेखि हालसम्म चार खर्ब ६४ अर्ब ३४ करोड ७१ लाख ६२ हजार वैदेशिक लगानी स्वीकृत भएको छ । स्वीकृत भएको वैदेशिक लगानीमध्ये ३० देखि ३५ प्रतिशतसम्म भित्रिने गरेको बताइएको छ ।