• १५ जेठ २०८१, मङ्गलबार

तीन दशकमा पनि कालोपत्रे भएन वनगाईँ–डोहोटे सडक

blog

मर्मत नहुँदा जीर्ण भएको वनगाई डोहोटे सडक । तस्बिर : जानु पाण्डे

जानु पाण्डे

कपिलवस्तु, भदौ २ गते । तीन दशक अगाडि नलकुप आयोजनाले सिँचाइका लागि बोरिङ जडान गर्दा वनगाईँ डोहोटे सडकको ट्रयाक खोलिएको थियो । सडक मर्मत गरी गाडी चल्ने बनाइएको थियो । 

२०५७ मा पहिलो पटक गाडी गुडेको सो सडक अहिलेसम्म कालोपत्रे हुन सकेको छैन । बाणगंगा नगरपालिका –९ कुन्तामणी भुसालका अनुसार जनप्रतिनिधि तथा सरकार जिम्मेवार नबन्दा सडक कालोपत्रे हुन नसकेको गुनासो गर्नुभयो ।  

२०५२ सालदेखि ट्रयाक खनिएको वनगाईँ–मोतीपुर–जिनुवा–डोहोटे सडकको निर्माण सम्पन्न नहुँदा स्थानीयलाई सास्ती खेप्नुपरेको छ । १२ किलोमिटर सडकखण्ड अन्तर्गत ७ किलोमिटर कपिलवस्तुको भेगमा कालोपत्रे भएको छ । ती सडक मर्मत नहुँदा खाल्डाखुल्डी परेको छ । 

पडेरीयादेखि डोहोटे (अर्घाखाँचीको शितगंगा नगरपालिका) मा पर्ने ५ किलोमिटर खण्ड कच्ची रहेको छ । वर्षातको समयमा सडकमा पानीको भल बग्ने हुँदा सवारी साधन चलाउन सक्ने अवस्था छैन । अरुबेला मिस्कट हालेर मर्मत गरेर गाडी गुड्ने बनाइन्छ । पानी परेपछि सडकको ग्राभेल बगाएर हिलो हुने बाणगंगा नगरपालिका वडा ९ का अध्यक्ष कमल पौडेलले बताउनुभयो ।   

२०७६ सालदेखि विभिन्न चरणमा वनगाईँ देखि पडेरीयासम्म सडक कालोपत्रे भएको छ । त्यसपछि नियमित मर्मत सम्भार भएको छैन । कच्ची सडकमा वडा कार्यालय, सामुदायिक वनले खर्चगरी मर्मत गर्दैआएका छन् । सडक जीर्ण हुँदा वर्षातको समयमा यात्रुवाहक बस, ट्रक, हलुका सवारी साधन चल्न छाडेका छन् । सडक निर्माण भएमा पूर्वबाट अर्घाखाँची जाने सवारी साधनको दूरी १५ किलोमिटर कम हुने स्थानीय बाबुराम रायमाझीले बताउनुभयो ।