• १५ जेठ २०८१, मङ्गलबार

हँसिया र रडको प्रयोग गरी बीभत्स हत्या

blog

विष्णुप्रसाद पोखरेल
दमक, भदौ २ गते । 
झापामा मेचीनगर नगरपालिका–८ का ३५ वर्षीय सुन्दर किसानको हँसिया र रडको प्रयोग गरेर बीभत्स हत्या भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । हत्याका कारण जग्गाको विवादसहित व्यक्तिगत रिसिइवी ‘इगो’ भएको र आफन्तबाट नै हत्या भएको समेत प्रहरी अनुसन्धानबाट खुलेको प्रहरी जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र रिजालले बताउनुभयो ।

किसानको हत्या आरोपमा पक्राउ परेका स्थानीय ५६ वर्षीय रामजी किसान र ४८ वर्षीय सुपरसिंह किसान प्रहरीको नियन्त्रणमा रहेका छन् । पक्राउ परेका दुवै जना एकाघरका दाजुभाइ रहेका छन् । हत्या आरोपमा पक्राउ परेका रामजी र सुपरसिंह मृतकका वडाबाका छोराहरू रहेको प्रहरीको भनाइ छ ।

उनीहरुबीच जग्गाको विषयमा किचलो रहँदै आएको थियो । उनीहरूको हजुरआमाको मोहिनीहक १८ बिगाहा जग्गाको विषयमा केही वर्षदेखि किचलो रहेको बताइन्छ । बुधबार साँझदेखि हराइरहनु भएका किसानको शव बिहीबार बिहान घरदेखि करिब डेढ किलोमिटर टाढा झाडीले छोपेर लुकाएको अवस्थामा फेला परेको थियो ।

हत्यामा प्रयोग भएको सिकल र रड फेला परेकाले त्यसैका आधारमा अभियुक्तको पहिचान भएको पनि रिजालले बताउनुभयो । सुन्दरको घाँटी काटिएको र टाउकोमा चोट भएको अवस्थामा शव फेला परेको थियो । पक्राउ परेकाले दिएको बयान अनुसार घटनास्थलको प्रकृति र आवश्यक प्रमाणहरू फेला परेको रिजालले जनाउनुभयो ।

पक्राउ परेका दुवैजना भारततर्फ गएको थाहा पाएपछि परिवारको सहयोगमा उनीहरूलाई नेपाल झिकाएर सोधपुछ गरी नियन्त्रणमा लिइएको रिजालले जानकारी दिनु भएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको अनुसन्धान समूह, जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकारभिट्टाले संयुक्त रूपमा अनुसन्धान कार्यलाई तीव्ररुपले अघि बढाई नेपाल प्रहरी प्रदेश कार्यालय धरान सुनसरीको डग शाखाबाट कुकुर समेत झिकाई ‘डग स्निफिङ्ग’ गरी घटनाको अनुसन्धान गरिएको रिजालले बताउनुभयो ।

प्रहरी अनुसन्धानमा आरोपितहरू र मृतकबीचमा लामो समयदेखि पारिवारिक रिसिइवी रहेको थियो ।

अनुसन्धानबाट धारिलो हतियार प्रहार गरी बीभत्स हत्या गरेको देखिन आएको र थप अनुसन्धान गर्ने कार्य भइरहेको प्रहरीले सार्वजनिक गरेको प्रेस नोटमा भनिएको छ ।