• २० जेठ २०८१, आइतबार

रूढिवादी कुसंस्कारको चिरफार

blog

नेपाली उपन्यास लेखनको वर्तमान खण्डहर अवस्थामा पृथक् तर अति उत्सुकमय शीर्षकमा ‘बाँठी’ झुल्किएको छ । यस उपन्यासले सुदूरपश्चिम नेपालमा महिलाप्रति गरिने पुरुष विभेदको धज्जी उडाएको छ । झट्ट सुन्दा ‘बाँठी’ शब्दको अर्थ थारी, बाँझी अथवा सन्तान जन्माउन असफल महिला भन्ने बुझिन्छ । उपन्यासकी मुख्य नायिका गौमतीले बच्चा जन्माउन असफल भएपछि घर, परिवार, समाजद्वारा अपहेलित भई अन्त्यमा आफ्नो जीवनलाई मृत्युमा बलि चढाएर पाठक हृदयलाई आफूतर्फ आकर्षण गर्न सफल भएकी छन् ।

सेती अञ्चलको पहाडी जिल्ला अछाम अन्तर्गतको ठेट गाउँको पृष्ठभूमिमा यस उपन्यास लेखिएको छ । गौमतीको शारीरिक बनावटलगायत नारी सौन्दर्यको अनन्त पक्ष बयान गर्दै उपन्यासको उठानमा नवीन प्रयोगले मिठास थपेको छ । यसको कथावस्तु उपन्यासकार शिवराज जैसी खतिवडा स्वयम्को अनुभव र अनुभूतिमा आधारित हो कि पनि भन्न सकिन्छ । हुन पनि हो, जुत्ता लगाउनेलाई मात्र किलाले कहाँ घोच्छ भन्ने कुरा राम्ररी थाहा हुन्छ । सुदूरपश्चिमकै लेखक र स्थानीय परिवेशसँग सम्बन्धित कथावस्तु भएकाले पनि छाउपडी, बाँठी, बाँझी जस्ता मध्ययुगीन कलङ्कको अवशेषलाई चिरफारसहित निमिट्यान्न पारेको छ यस उपन्यासले ।

सुदूरपश्चिमकै कथा, परिवेश र जनजीवनबाट सर्वाङ्ग खिचिएको चरित्र, सुदूरपश्चिमकै भाषाको पाइन चढेको अभिव्यक्ति तथा कथोपकथन माझ उपन्यासको उद्देश्यले सार्थकता पाएको छ । समाजका अनावश्यक पिरलो र विसङ्गतिको अन्तर्यमा पस्ने, हुबहु पस्कने र त्यसको दुःखद परिणतिबारे सचेत तुल्याउने असल मनसाय नै यस उपन्यासको कथावस्तुको सुखद पक्ष हो । समाजको हित चिताएर गरिएका सिर्जनाले समाजको मन अवश्य जित्छन् । हुन पनि हो, एउटी अबोध नारीले रजस्वला हुँदा जे जति शारीरिक पीडा, सकस र कष्ट भोग्छे, त्यति पीडा, कष्ट र सकस एउटा पुरुषले उसको श्रीमतीको मृत्युमा पनि भोग्नु पर्दैन । जन्मजात बच्चा जन्माउन असक्षम ‘बाँठी’ हुनु प्रस्तुत उपन्यासकी मूलपात्र गौमतीको दोष पटक्कै होइन । बरु गौमतीलाई जन्मदिने विधाताको दोष हो, परिस्थितिको दोष हो । नेपालको सुदूरपश्चिम क्षेत्रमा जकडिएको यस्तो रूढिवादी कुसंस्कारलाई निमिट्यान्न पारेर फ्याँक्नुपर्ने शङ्खघोष गर्नुभएको छ उपन्यासकारले । यही सकारात्मक सन्देशका संवाहक उपन्यासकार खतिवडाको यस सुकृतिका निम्ति पाठकीय सहानुभूतिको सागर नै ओइरिएर चुलिन्छ । 

खानदानी परिवारमा जन्मेहुर्केकी मूल नायिका गौमती शारीरिक सौन्दर्य एवं शरीर संरचनाको दृष्टिले अब्बल छन् । सर्वगुण सम्पन्न हुँदाहुँदै पनि आमा बन्ने नारीत्वबाट जन्मजात उनी वञ्चित छन् । नचाँहदा नचाहँदै ‘बाँठी’ जीवनका फिकाफुङ्ग पलहरूले उनीसँग जम्काभेट गर्छन् । खानदानी परिवारका कजीसँग उनको बिहे हुन्छ तर आमा बन्न नसक्ने खोट देखेपछि श्रीमान् काजीसँग उनको कुरो मिल्दैन । बलेको आगो मात्र ताप्ने स्वार्थी समाजको दृष्टिमा गौमतीको अस्तित्व स्थानीय परिवेशमा बेकम्मा बन्छ । सबैबाट उनी तिरस्कृत, अपमानित भई विदारक जीवन जिउन विवश बन्छिन् । बाल्यकालमा विवाह बन्धनको लगनगाँठोमा बेरिएकी गौमतीले सन्तान देखिछाड्ने हठका कारण पति काजीलाई दोस्रो बिहेको स्वीकृति दिन्छिन् । ख्यालख्यालको उक्साहटमा सौता झेल्न स्वयम् उनी विवश बन्छिन् । सौताको गर्भबाट पुत्र जन्मिएपछि गौमतीको पतिघरमा बस्ने वातावरण नै समाप्त हुन्छ । अकारण गौमती पति गृहबाट लखेटिनु पर्छ । त्यस अवस्थामा वैराग्य बोधको पोखरीमा झ्वाम्म हाम्फाल्दै जीवनबाट नै बिदा लिने अवस्थामा उनी पुग्छिन् । यसरी जीवन मृत्युको दोसाँधमा उभिएको दोधार मनलाई भित्री हृदयले स्वीकृति दिँदैन । अनि नुनिला आँसुका ढिकाले परेली कोष बढार्दै र आफैँ समालिँदै गौमती पुनः माइतीको शरणमा पु्ग्छिन् । हुन पनि हो, आमाको न्यानो काख र जुनेली रात विपत्का अजम्बरी साथी हुन् । 

दुःखको बाढीसँगै ‘बाँठी’ रहनु, घरजम बिग्रनु, माइतीको शरणमा पुग्नु पछिका दिनहरू पनि गौमतीका लागि असहज नै बन्छन् । अविवेकी समाजको कुदृष्टिद्वारा हरदम उनी डसाइमा पर्छिन् । अलच्छिनी, बोक्सी जस्ता उट्पट्याङ शब्दको आरोप हरदम खेप्नु पर्छ । माइती बसाइमा गोठाला जाँदा, गुमाने, नरे, दुर्गे, लाली, च्यान्टी आदि गोठाला–गोठालीद्वारा खिसिटिउरे पारामा ‘बाँठी’ शब्दको वाण खेप्नु पर्छ । यसरी सबैले आफूमाथि कटु शब्द फलाकेको उनी सुन्न सक्दिनन् । एक्लै गाई–बाख्रा चराउन जाँदा त झन् असुरक्षित मात्र बन्दिनन्, गोरे, जैते जस्ता यौन पिपासुले उनको सतित्व लुट्छन् । माइतीको जति सेवा गरे पनि मुम्बई रहेका दाजुभाउजू घर फर्केर गौमतीलाई घरमा कलह बढाउने बिउको रूपमा आरोप लगाउँछन् । गौमती बाबुआमाद्वारा अर्पिएको एक गाई, चार बाख्रा, चार गरा पाखो र एक खेतसमेत त्यागेर दिदीको घरमा शरण लिन विवश बन्छिन् तर दिदीको घरमा पनि बस्न नसकी खोलामा हाम्फालेर आत्महत्या गर्न मृत्युको डिलमा पुग्दा उनी एक बाहुनीसँगको जम्काभेटले तीन वर्ष आयु लम्ब्याउन बाध्य बन्छिन् । अन्त्यमा माइतीकै आँगनको आँपको रुखमुनि प्राण त्यागी कारुणिक मृत्युवरणसँगै गौमती जस्ती स्वाभिमानी नारीको जीवन अध्याय समाप्त हुन्छ । 

यसरी पाठकीय सहानुभूतिको ओइरो बटुलेर गौमतीद्वारा आत्महत्या गरिएको घटना अजर र अमर बनेको छ उपन्यासमा । गौमतीलाई उपन्यासको केन्द्रमा उभ्याएर समाजमा ‘बाँठी’, थारी हुनुको समस्या बेकसुरमा भोग्ने आममहिलाको भोगाइलाई उपन्यासकारले जस्ताको तस्तै गरी सजीव उतार्नु भएको छ ।

अझै पनि बालविवाह, बहुविवाह, अनमेल विवाह, महिला पुरुषप्रतिको भेदभावको खाडल, छाउपडी प्रथा जस्ता मध्ययुगीन कलङ्कले सुदूरपश्चिमलाई सताएको छ । यस्तो अमानवीय कुप्रथालाई उजागर गरेर पाठकीय हृदयमा सहानुभूतिको चुली उभ्याउनु भएको छ उपन्यासकारले । सामाजिक यथार्थवादी उपन्यासको धरातलमा देखापरेको प्रस्तुत उपन्यासमा सुदूरपश्चिम नेपालको वैवाहिक जीवन पद्धतिको सिलसिलेबार, मेलापात, पर्व विशेषका कहावत किस्सा ओकल्दै र आत्मालोचनात्मक झिल्काको उज्यालो छर्दै नेपाली वाङ्मयको फाँटमा थपिएको ‘बाँठी’ उपन्यास सङ्ग्रहणीय छ, पठनीय छ । भुँडीपुराणले प्रकाशन गरेको यस उपन्यासको मूल्य ३९०/– रुपियाँ र पृष्ठ सङ्ख्या १६+१६४ रहेको छ ।