कपिल ज्ञवाली
सिद्धार्थनगर, भदौ १ गते । रुपन्देहीको टाइगर प्यालेस रिसोर्ट किनेका नयाँ लगानीकर्ताले सरकारलाई सबै कर तिर्ने घोषणा गरेको छ । गैर आवासीय समूहको टीमले रिसोर्टमै पत्रकार सम्मेलमार्फत सबै प्रकारका कर तिर्ने अध्यक्ष बुद्धिसागर सुबेदीले बताउनुभयो ।
पाँचतारे रिसोर्ट नयाँ ब्यवस्थापनको जिम्मेवारी सम्हालेका सुवेदीले कर तिर्ने प्रष्ट पार्नुभयो । ‘हामी नेपालमा नाफा कमाउन आएका होइनौं, देशप्रतिको दायित्व पूरा गर्न आएका हौं’ सुवेदीले भन्नुभयोे, ‘राज्यलाई तिर्नुपर्ने सबै कर तिर्छौं, एक रुपियाँ पनि बाँकी राख्दैनौँ ।’
अष्ट्रेलियन कम्पनी सिल्भर हेरिटेज ग्रुपले करिब ५ अर्ब रुपियाँको लगानीमा टाइगर प्यालेस सञ्चालन गर्दैआएको थियो । लामो समयदेखि टाइगर प्यालेस बिक्री गर्न खोजिएको थियो । बैंकको दायित्व मात्र साढे २ अर्ब रुपियाँको हाराहारीमा रहेको अर्का सञ्चालक दीपकदत्त गौतमले बताउनुभयो ।
वैदेशिक लगानीमा सञ्चालन भएको रिसोर्ट बन्द हुने अवस्थामा पुगेको र विदेशमा समेत नेपालमा वैदेशिक लगानीको वातावरण नभएको गलत सन्देश जाने देखेपछि विदेशमा बस्ने नेपाली मिलेर सिल्भर हेरिटेजसँग टाइगर प्यालेस किनेको उहाँको भनाइ छ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा सञ्चालित सो रिसोर्ट तथा क्यासिनोले एक हजारभन्दा बढी नेपालीलाई प्रत्यक्ष रोजगारी दिएको थियो । सरकारलाई करोडौं रुपियाँ राजस्व तिर्दैआएको थियो ।
करिब १५ बिघा क्षेत्रफल रहेको रिसोर्ट पूर्णरुपमा सञ्चालन हुन नसक्दा नेपालीले रोजगारी गुमाउनुका साथै सरकारको करोडौं राजस्व पनि गुम्दैआएको थियो । कम्पनीले बैंकलाई तिर्नुपर्ने साँवा, ब्याजको दायित्व पनि तिर्न सकिरहेको थिएन ।