• १३ मंसिर २०८१, बिहिबार

एसिया रग्बी यू–२० शनिबारदेखि

blog

प्रतियोगिताबारे जानकारी दिँदै आयोजक ।

काठमाडौं, भदौ १ गते । एसिया रग्बीको आयोजना र नेपाल रग्बी सङ्घको व्यवस्थापनमा एसिया रग्बी यू–२० सेभेन्स महिला तथा पुरुष प्रतियोगिता शनिबारदेखि दशरथ रङ्गशालामा सुरु हुँदैछ ।

आइतबारसम्म चल्ने दुई दिने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको नेपाल रग्बी सङ्घले जनाएको छ । सङ्घले शुक्रबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको व्यवस्थापन र प्राविधिक सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो । 

प्रतियोगितामा पुरुषतर्फ नेपालसहित भारत, थाइल्यान्ड, मलेसिया, चाइनिज ताइपेइ, हङकङ र उज्बेकिस्तान गरी सात राष्ट्रको सहभागिता रहनेछ । महिलातर्फ नेपालसहित, थाइल्यान्ड, हङकङ र मलेसियाले प्रतिस्पर्धा गर्नेछन् ।

नेपालमा दोस्रो पटक रग्बीको अन्तर्राष्ट्रिय ठूलो प्रतियोगिता आयोजना सञ्चालन हुन लागेको हो । सङ्घले गतवर्ष पनि नेपालमा एसिया रग्बी यू–१८ सेभेन्स आयोजना गरेको थियो । यस प्रतियोगितामा दुई सय खेलाडी र २५ जना निर्णायक तथा अफिसियलको प्रतक्ष सहभागिता रहने सङ्घले जानकारी दिएको छ ।

प्रतियोगितामा महिलातर्फ राउन्ड रोविन लिगको आधारमा प्रतिस्पर्धा हुनेछ । पुरुषतर्फ सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउटका आधारमा प्रतियोगिता गराइनेछ । 

प्रतियोगिता आयोजनाका लागि ७२ लाख रुपियाँ खर्च हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले ट्रफी पुरस्कार प्राप्त गर्नेछ । प्रतियोगिताका लागि नेपाली पुरुष र महिला राष्ट्रिय टोलीको बन्द प्रशिक्षण पोखरामा सञ्चालन भएको थियो । 

श्रीलङ्कन प्रशिक्षक विजेलाथ सेनले गत असार १५ गतेबाट दिइरहेको प्रशिक्षण निकै प्रभावकारी रहेकाले प्रतियोगितामा नेपालले राम्रो नतिजा ल्याउने सङ्घको दाबी छ ।

यस प्रतियोगितामा सहभागी हुन एसिया रग्बीका अध्यक्ष कायस अबदुल्लाह मोसिन मोहमद अललगायत एसिया रग्बीका म्याच अफिसियल नेपाल आइसकेको पनि सङ्घले जनाएको छ ।