• १४ जेठ २०८१, सोमबार

प्रकृतिको अनुपम उपहार ढोरपाटन (फोटो फिचर)

blog

ढोरपाटन उपत्यका र ढोरपाटन क्षेत्रमा रहेका विभिन्न वस्तीहरुलगायतको मनोरम दृश्य । तस्बिर : साधन घर्ती

साधन घर्ती 

म्याग्दी (दरबाङ), भदौ २ गते । वरिपरि अग्ला हरियाली पहाड तथा सेता पुथा र चुरेन हिमाल । वनफूलले ढकमक्क ढाकिएको ढोरपाटन (उपत्यका) फाँट । प्राकृतिक सौन्दर्यताले भरिपूर्ण ढोरपाटनको बयान गरिसाध्य छैन ।

फाँटमा आफ्नै सुरले चरिरहेका घोडाहरू, गाईभैसी लगायतको दृश्यले मनै लोभ्याउँछ । उपत्यका (फाँट) बीच भाग हुँदै शान्त अनि आफ्नै गतिमा सललल बगिरहने उत्तरगङ्गाको दृश्यले झनै रोमाञ्चक बनाइदिन्छ । 

अहिले वर्षातको समय भए पनि ढोरपाटनलाई नजिकैबाट नियाल्ने, चुम्ने र फाँटमा खुट्टा टेकाउन खोज्ने धेरै पर्यटक छन् । यहाँ पुग्ने जोकोहीले पनि स्वर्गीय आनन्द प्राप्त हुने बताउँछन् ।

  

वर्षायामको समयमा यहाँ छिनभरमै मौसम परिवर्तन भइरहन्छ । क्षणमै छ्याङ्ग आकाश खुल्छ । क्षणमै बादलले ढपक्क ढाक्छ । ढोरपाटन प्रकृतिको अनुपम उपहार मानिन्छ । सँगै रहेको उत्तरगङ्गाको ढोरबराहमा पूजाआजा तथा दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहँदैआएको छ । 

स्थानीय रवीन्द्र भण्डारीका अनुसार वैशाख पूर्णिमा र जनैपुर्णिमालगायत विभिन्न पर्वमा यहाँ तीर्थालुको भीड लाग्छ । बागलुङ, म्याग्दी र रुकुम तीन जिल्लाका एक हजार तीनसय २५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको ढोरपाटन शिकार आरक्ष अब धार्मिक पर्यटकीय गन्तव्य बन्दैगएको छ । 

ढोरपाटनलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन प्रचारप्रसार र पूर्वाधार विकास गर्न आवश्यक रहेको म्याग्दीको मालिका गाउँपालिका –४, च्युरिबोटका किरण पुनले बताउनुभयो । ‘‘ढोरपाटन प्राकृतिक सौन्दर्यताले भरिपूर्ण छ । साँच्चै भन्नुपर्दा यो प्रकृतिको अनुपम उपहार हो’’ उहाँले भन्नुभयो, ‘‘वर्षायामको समयमा यहाँ आउन अलि गाह्रो हुँदो रहेछ ।’’

ढोरपाटन उपत्यका क्षेत्रमा स्थानीयले आलु, सिमीलगायत उत्पादन गर्दैआएका छन् । प्रचारप्रसारको कमी र पूर्वाधार अभावले ढोरपाटनका अन्य फागुने लेक, बुकी, गार्पा लेक, जलजला, निसेल ढोर क्षेत्रमा कमै मात्रामा पर्यटक पुग्नेगरेको स्थानीयको भनाइ छ । 

सँगै उत्तरगङ्गा, रुद्र ताल, छेन्टुङ गुम्बालगायत पर्यटकीय स्थल रहेका छन् । यस क्षेत्रका पशुपालक कृषकहरू जेठदेखि असोजसम्म गाई, भैँसी, भेडा, बाख्रा लिएर बुकी क्षेत्रमै बस्छन् । ढोरपाटन क्षेत्रका स्थानीयको घुम्ती बसाइँ, घुम्ती पठनपाठन, घुम्ती व्यापार र जीवनशैली पनि अध्ययन र अवलोकनका लागि आकर्षक विषय बनेको छ । 


ढोरपाटनमा पुगेर पर्यटक घोडचढी गर्छन् । उपत्यका क्षेत्रमा पुरानो हवाई मैदान, स्यालपाखे, नवी र तिब्बती शरणार्थी क्याम्पसम्म घुम्ने गर्छन् । तिब्बती शरणार्थीका जनजीवन, संस्कृति र रहनसहन बुझ्न छ्यान्टुङ राम्रो स्थान हो ।  

यो आरक्षमा वर्षमा दुई पटक विश्वभरका पेशेवर शिकारी नाउर र झारलको शिकार खेल्न पुग्छन् । साहसिक शिकारका लागि मात्र नभई यहाँ वर्षभरि नै आन्तरिक तथा बाह्य पर्यटक घुम्न जाने गर्छन् । बुर्तिबाङसम्म मध्यपहाडी लोकमार्गको यात्रा गरेपछि थप ३६ किलोमिटर हिँड्दा कच्ची सडकबाट ढोरपाटन पुगिन्छ । 

म्याग्दीको धवलागिरि गाउँपालिका –२, लमसुङ–मरेनी–जलजला–गुर्जाघाट र सोही वडाको लुलाङ–गुर्जा–रुघाचौर र गुर्जाघाट हुँदै ढोरपाटन पुग्न सकिन्छ । पर्यटन प्रवर्द्धनका लागि जनयुद्धको उद्गमथलो रोल्पा, रुकुम, बागलुङ र म्याग्दी समेटेर म्याग्दीको दरबाङ ढोरपाटन हुँदै रोल्पाको जेलबाङसम्मको पदयात्रा २०७२ सालमा घोषणा गरिएको थियो । जुन पदयात्राको नाम हो ‘गुरिल्ला पदमार्ग ।’