• ११ मंसिर २०८१, मङ्गलबार

कर्णालीका गाउँखाने कथाहरू लोकार्पण

blog

काठमाडौँ , भदौ १ गते । गाउँखाने कथाहरूको खोज अनुसन्धान ,सङ्कलन र सम्पादन गरेर स्रष्टा खडानन्द चौलागाईंले कर्णालीका गाउँखाने कथाहरू नामक साइतर सङ्ग्रह प्रकाशित गर्नुभएको छ । 

यस पुस्तकको लोकार्पण प्रमुख अतिथि तथा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य डा. मधुसूदन गिरीले गर्नुभयो । यस अवसरमा प्रमुख अतिथि गिरीले खडानन्द चौलागाईंले प्रकाशित गर्नुभएको पुस्तक कर्णालीका गाउँखाने कथाहरू कर्णालीको जनजीवनमा भिजेको लोकगाथा हो । यसले वास्तविक लोकमय साहित्यिक भाकालाई चित्रण गरेको छ ।तर केही लेखकहरूले यथार्थलाई भाँचकुच गरेर स्वार्थ पूरा गरेका छन् ,कर्णालीको नाम भजाएर अनुचित लाभ लिएका छन् । 

त्यस प्रवृत्तिलाई निरुत्साहित नगर्ने हो भने कर्णालीको मौलिकता समाप्त हुने चिन्ता व्यक्त गर्नुभयो । यसै सिलसिलामा चन्दनपुर नगरपालिका जुम्लाका प्रमुख राजुसिंह कठायतले जुम्ला नेपाली भाषाको माउ भाषा 'खस भाषा'को उत्पत्ति थलो भएर पनि राज्यबाट उपेक्षित छ । पाठ्यपुस्तक वा सञ्चारमाध्यममा खासै प्राथमिकता दिएको देखिँदैन ।कर्णालीको मौलिक लोक साहित्यलाई सबैले उजागर गर्नुपर्नेमा जोड दिनुभयो ।

यसै गरी कर्णालीका गाउँखाने कथाहरू साइतर सङ्ग्रहको समीक्षा गर्दै डा. भीम केसीले कर्णालीको भाषा, लोकोक्ति, टुक्का, उखानलगायत कैयन् सांस्कृतिक र पुरातात्त्विक वस्तुहरू विलुप्त भइसकेका छन् । आधुनिक प्रविधिसँगै कर्णालीको मौलिकतामा ह्रास आएको छ । यसका साथै खस भाषा र संस्कृतिको संरक्षण गर्दै नयाँ पुस्तालाई आकर्षित गर्न सक्नुपर्छ भन्नुभयो ।

यसै क्रममा दिलबहादुर महत्तले कर्णालीको लोक साहित्य र साइकरको उत्खनन गर्नुपर्ने बताउँदै खस भाषामा कर्णालीको माउटो बोलको लोकगीत गाउनुभयो । यसै गरी पुस्तकका लेखक खडानन्द चौलागाईले कर्णालीको गाउँ खाने लोककथामा बौद्धिक ,सामाजिक र सांस्कृतिक चित्रण रहेको उल्लेख गर्नुभयो।साथै नेपाली भाषाको माउभाषा खस भाषालाई सरकारले सदैव उपेक्षा गरेकाले मौलिक जीवनशैली र लोकसंस्कृति सङ्कटमा पर्न थालेको देखेर आफूले कर्णालीका गाउँ खाने कथाहरू लाई अन्वेषण गरी पुस्तकको रूप दिएको बताउनुभयो ।

यस क्रममा कार्यक्रमका उद्घोषक , कवि तथा पत्रकार मोतीराज बमले जुम्ली शीर्षकको रैथाने कविता र लोकगीत प्रस्तुत गर्दै कर्णालीको साहित्यिक र सांस्कृतिक क्षेत्रको विकासमा सरकारले बेवास्ता गरेको धारणा राख्नुभयो । यसै गरी समापनका क्रममा सभाध्यक्ष तथा आयुषराज मल्टिमिडिया प्रालिका अध्यक्ष भरत मल्लले कर्णाली क्षेत्रको लुकेका साइतर र ओझेल परेका भाषा र संस्कृतिको जगेर्ना गर्नुपर्ने बताउनुभयो ।