गाईघाट समाचारदाता
गाईघाट, भदौ १ गते । विगतमा अतिक्रमणको चपेटामा परेर उजाड बनेको कटारी नगरपालिका–५ को सिसाघारीस्थित सामुदायिक वन क्षेत्र अहिले आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बनेको छ ।
सामुदायिक वनको करिब १० बिघा क्षेत्रफल ओगटेको सो स्थानको खाली जग्गामा कटारी नगरपालिका, स्थानीय उपभोक्ता र सामुदायिक वन उपभोक्ता समितिको संयुक्त लगानी र प्रयासमा सिमसार संरक्षण गरी पर्यटकीय स्थलका रूपमा विकसित गरिएपछि सो ठाउँ अहिले पर्यटकको आकर्षणको केन्द्र बनेको हो ।
स्थानीयवासीको मात्र नभएर सिराहा, सप्तरी, सिन्धुलीलगायतका जिल्लाबाट अहिले त्यहाँस्थित सिमसार घुम्न आउने आगन्तुकको व्यापक चहलपहल बढेपछि यस क्षेत्रलाई थप व्यवस्थित बनाउँदै लगिएको कटारी नगरपालिका–५ का वडाध्यक्ष मोहन तामाङले बताउनुभयो । उहाँका अनुसार कटारी नगरपालिका–५, सिसाघारीमा चार वर्षअघिसम्म स्थानीय उपभोक्ताको अतिक्रमणमा परेको खुला जग्गा र बाँझो चौर अहिले लोभलाग्दो पर्यटकीय क्षेत्र बनेको छ ।
सिसाघारी सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रभित्र रहेको सिमसार अहिले यस क्षेत्रकै महìवपूर्ण पर्यटकीय स्थल बनेको हो । यस क्षेत्रलाई कटारीकै पहिचानका रूपमा विकास गरेर अगाडि बढाउने योजना रहेको वडाध्यक्ष तामाङ बताउनुहुन्छ । २०७५ मा झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सिमसार भ्रमणमा पुगेपछि कटारीमा पनि सिमसार बनाउन सकिने भन्दै उपभोक्ता समितिले प्राकृतिक रूपमा रहेको जलाधार संरक्षण गरी सो क्षेत्रलाई सुन्दर एवं आकर्षक सिमसार बनाएको हो ।
सामुदायिक वन उपभोक्ता समूहले जनश्रम दानसहित एक लाख ५० हजार रुपियाँको लागतमा अतिव्रmमित जग्गालाई संरक्षण गरी पर्यटन क्षेत्रको विकास गर्ने उद्देश्यले सिमसार बनाउन सुरु गरेको सो क्षेत्र अहिले जलविहार गर्ने, वनभोज खाने र सेल्फी खिच्नेलगायतका व्रिmयाकलाप गर्ने आकर्षक स्थान बनेको पर्यापर्यटन संयोजक दिलबहादुर अधिकारीले बताउनुभयो ।
सुरुमा सानो आकारको भए पनि अहिले विस्तार गरेर सिमसारको फैलावट बढाइएको छ । सो क्षेत्रको अतिव्रmमित जग्गालाई अहिले पर्यटकीय स्थल बनाई संरक्षित जङ्गली जनावर हेर्ने, पोखरीमा बोटिङ गर्ने र स्थानीय चमेना गृहमा खाजा पानी, चिया, कफी खाने जस्ता गतिविधिसहित सिमसार पर्यापर्यटन समितिमार्फत सञ्चालनमा ल्याइएको डिभिजनल वन कार्यालय कटारीका अधिकृत हीरालाल शर्माले बताउनुभयो ।
उहाँका अनुसार समूहको जनश्रमदानले मात्रै सिमसार निर्माण र विस्तार सम्भव थिएन । उपभोक्ताले काम थालेसँगै सिमसारको विकासका लागि नगरपालिकाले सहयोग ग-यो र अन्य काम अगाडि बढाउन सहज भएको हो । डिभिजन वन कार्यालयको सहयोगपछि सिमसारमा कटारी नगरपालिकाले सहयोग गरेको र त्यसबाट पोखरीको चारैतिर भित्ता सम्याउने तथा बाँध लगाउनेलगायतको थप निर्माण भएको कटारीका नगरप्रमुख राजेशचन्द्र श्रेष्ठले बताउनुभयो ।
वन कार्यालयले पर्यापर्यटन कार्यक्रम अन्तर्गत हालसम्म ३० लाख रुपियाँ सहयोग गरिसकेको छ भने कटारी नगरपालिकाले २० लाख रुपियाँ सिमसार संरक्षण गर्न सहयोग गरेको छ । अहिले बाल उद्यान, तालमा डुङ्गा, रमणीय पार्कलगायतका संरचना बनेका छन् । सिमसार क्षेत्रमा हाल मृग, नीलगाईलगायतका वन्यजन्तुलाई पनि संरक्षण गरेर राखिएको छ । यी सबै कुरा प्रत्यक्ष देखेर सिमसार घुम्न आउने पर्यटक मनैदेखि खुसीले गदगद हुने गर्छन् ।
कटारी बजारबाट करिब पाँच किलोमिटरको दूरीमा रहेको सो स्थानमा सिमसार घुम्न दैनिक दुई सय र बिदाको दिन सात सयभन्दा बढी आन्तरिक पर्यटक आउने गरेको स्थानीयवासी बताउँछन् । स्थानीयवासीका अनुसार सिमसार घुम्न आउने, फोटो खिच्ने र बोटिङ गर्नेको सङ्ख्या बढ्दै गएको छ । ओखलढुङ्गालगायत मधेश प्रदेशबाट समेत पर्यटक आउने गरेका छन् ।