गुणबहादुर रोका
सुलीकोट, भदौ १ गते । गोरखा जिल्लाको धार्चे गाउँपालिका– ७, खानीगाउँका ३२ घर पहिरोको उच्च जोखिममा परेका छन्। गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले पहिरोका कारण बस्ती भएको जमिन चिरा चिरा परेपछि घर उच्च जोखिममा परेको बताउनुभयो। पहिराले बस्तीमाथिका जमिन चिरिएको र बस्तीमुनिका जमिन खाल्डो पर्दै गएपछि बस्ती पूरै जोखिममा परेको उहाँको भनाइ छ।
अध्यक्ष गुरुङले भन्नुभयो, “२०७२ सालको भूकम्पले खानीगाउँको जमिनमा चिरा पर्न थालेको थियो। केही दिनअघि परेको निरन्तरको वर्षाले अहिले बस्ती झनै जोखिमपूर्ण बनेको छ।” वर्षाले जमिन भासिँदै गएपछि अधिकांश घरको भित्री भाग चिरा परेको छ। घरको जगसमेत तल तल सर्दै गएको छ, घरभित्र एक बित्तासम्म लामो चिरा परेपछि बस्नका लागिसमेत डरमर्दो अवस्था बनेको छ।
पहिरोको जोखिम बढेपछि पीडित परिवार घरमा बस्न सक्ने अवस्थासमेत नरहेको उहाँले बताउनुभयो। अध्यक्ष गुरुङले भन्नुभयो, “जुन घरभित्र पसे पनि अत्यास लाग्ने अवस्था छ। रात बस्नका लागि छिमेकीको घरमा गएर बास माग्नुपर्ने बाध्यता यहाँका बासिन्दाको छ।” पहिरोको त्रासले स्थानीयवासी साँझपख छिटोछिटो घरमा खाना खाएर ओड्ने ओछ्याउने बोकेर छिमेकी र आफन्तकोमा सुरक्षित बास बस्न जानुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ।
केही परिवार विद्यालयमा नै बास बस्नसमेत जाने गरेको अध्यक्ष गुरुङले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “समस्या परेका परिवारमध्ये तीन परिवार वृद्ध एकल महिला पनि रहनुभएको छ। उहाँहरूलाई त समस्या परिहाल्यो भने भाग्न सक्ने अवस्थाको पनि हुनुहुन्न। पहिरोको पीरले अत्यासमा दिन कटाइरहनु भएको छ।”
बस्ती अत्यन्तै जोखिमपूर्ण रहेकाले घर खाली गरेर अन्यत्र सर्न स्थानीयवासीलाई गाउँपालिकाले आग्रहसमेत गरेको छ। पहिरोले खानीगाउँका ३२ घरधुरीका १०५ जना प्रभावित भएका छन्। गाउँपालिकाले उहाँहरूको सहजीकरणका लागि निरन्तर प्रयास गरिरहेको अध्यक्ष गुरुङले बताउनुभयो।