• ११ मंसिर २०८१, मङ्गलबार

बाँसुरी वादन प्रशिक्षण सम्पन्न

blog

भक्तपुर, भदौ १ गते । मध्यपुर थिमि–१, लोकन्थलीमा रहेको सिद्धि गणेश दफा भजन खलले  विगत १५ महिनादेखि सञ्चालन गर्दै आएको बाँसुरी वादन प्रशिक्षण बिहीबार पूरा भएको छ ।  प्रशिक्षण समापन तथा प्रदर्शन कार्यक्रम (बाजा पिथनेगु ज्याझ्वः) मा आठ वर्षको बालकदेखि ३८ वर्षको युवासम्म मौलिक पहिरनमा सजिएर बाँसुरी बजाई नगर परिक्रममा गरेका थिए । 

बाँसुरी प्रशिक्षक साहिल द्वारे परम्परागत सङगीतमा युवा पुस्ताको आकर्षण बढिरहेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “नेवारी संस्कृति, बाजा तथा परम्पराको संरक्षणमा युवा पुस्ता  उत्साहित छन् ।” बिस वर्षीय गुरु द्वारे आफूले सिकेको बाँसुरी वादनलाई अरूले पनि सिक्नु पर्छ भन्ने उद्देश्यले सिकाउन थालेको बताउनुहुन्छ । प्रशिक्षणको क्रममा गीत मात्र नभएर उहाँले प्रशिक्षार्थीहरूलाई राग, सुर, तानपुरा, नोटेसन र बिट कसरी गन्ने भन्ने पनि सिकाएको दाबी गर्नुभयो ।  बाँसुरी वादनमा मुख्य गरी टिप बाँसुरी दुई र घोर बाँसुरी पाँच वटा गरी सात बाँसुरी, ढोलक, कछिमा, लाखी, मादल, झ्याली बजाइन्छ । 

निरन्तर प्रशिक्षणमा सहभागी हुनुभएका विवेक हेक्काले निकै रमाइलो तरिकाले बाँसुरी वादन सिक्नुभयो । कम्प्युटर एप्लिकेसनमा स्नातक गर्नुभएका हेक्का आफ्नो मौलिक कला संस्कृतिको संरक्षण आफ्नो पनि जिम्मेवारी हो भन्ने भावनाले यस सिपतिर आकर्षित भएको बताउनुहुन्छ । 

उहाँ भन्नुहुन्छ, “पढाइको तनावका बिच पनि बाँसुरी बजाउँदा यसको धुनले निकै आफूमा ताजगीपन आएको महसुस हुन्छ । थकाइ सबै मेटिएझै हुन्छ ।’’ उहाँ जस्तै रोजिना हेक्का पनि बाँसुरी वादनमा उत्तिकै रमाउनुभएको छ । अरूले बजाएको देख्दा नै रमाइले मान्ने हेक्का आफैँले बजाउन सिकेपछि निकै उत्साहित हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, “सिकाइको क्रममा अरूभन्दा केही ढिलो भए पनि जति सिकेको छु त्यसलाई निरन्तरता दिने छु । अभ्यास गर्दै गएपछि एक दिन त सफल भइन्छ नि ।”