• १२ साउन २०८१, शनिबार

८२० किमी थप सडक कालोपत्रे

blog

काठमाडौँ, भदौ १ गते । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यो वर्ष थप ८२० किलोमिटर सडक कालोपत्रे भएको जानकारी दिएको छ । मन्त्रालयले वार्षिक प्रगति विवरण सार्वजनिक गर्दै यस वर्ष २२२ वटा मोटरेबल नयाँ पुल निर्माण भएको पनि जनाएको छ ।  

मन्त्रालयका सचिव केशवकुमार शर्माले आर्थिक वर्ष २०७९/८० मा २४९ किलोमिटर सडकको पुनर्निर्माण तथा पुनर्स्थापना भएको पनि बताउनुभयो । त्यसै गरी २४३ किलोमिटर नयाँ ट्र्याक खोलिएको, ६२८ किलोमिटर खण्डास्मित (ग्राभेल) गरिएको जानकारी दिनुभयो । उहाँले सो अवधिमा सडक विभागको भौतिक प्रगति ६९ प्रतिशत रहेको बताउनुभएको छ ।

उहाँले निर्माण व्यवसायीले विभिन्न माग राखी समयमा काम नगरेको तथा निर्माण सामग्री आपूर्तिमा देखिएका समस्यालगायतका कारणले गत आर्थिक वर्षमा अपेक्षित उपलब्धि हासिल हुन नसकेको बताउनुभयो । सचिव शर्माले चालु आर्थिक वर्षमा ९० प्रतिशत भौतिक प्रगति हासिल गर्ने लक्ष्यसहित काम अगाडि बढाइएको जानकारी दिनुभयो । गत आर्थिक वर्षमा मन्त्रालयले सडक विभाग अन्तर्गत ८० प्रतिशत भौतिक प्रगति हासिल गर्ने लक्ष्य राखेको थियो ।

त्यसै गरी उहाँले नागढुङ्गा–नौबिसे–सिस्नेखोला सुरुङ मार्गको मुख्य सुरुङ खन्ने काम अब ४९० मिटर मात्र बाँकी रहेको, नागढुङ्गा–नौबिसे सडकखण्डलाई तीन प्याकेजमा ठेक्का लगाई बिस्तार भइरहेको, पूर्व–पश्चिम राजमार्गको काँकडभिट्टा–लौकही खण्डको ठेक्का व्यवस्थापन कार्य अन्तिम चरणमा रहेको, कमला–ढल्केबर–पथलैया सडक स्तरोन्नतिका लागि पूर्वतयारीको काम सम्पन्न गरेर निर्माणका लागि खरिद प्रक्रिया सुरु भएको जानकारी दिनुभयो । 

उहाँका अनुसार ग्वार्कोमा ‘फ्लाइओभर’ निर्माणाधीन अवस्थामा रहेको तथा सातदोबाटो र एकान्तकुनामा ‘फ्लाइओभर’ निर्माणका लागि बहुवर्षीय ठेक्का तथा स्रोत सुनिश्चितताका लागि सहमति माग गरिएको छ ।