• ४ जेठ २०८२, आइतबार

सबै मिलियो भने मात्र परिणाम आउँछ : कांग्रेस प्रवक्ता डा. महत

blog

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अर्थमन्त्री तथा नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत । तस्बिर : अर्थमन्त्रीको निजी सचिवालय

सिराहा, साउन ३२ गते। अर्थमन्त्री तथा नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सबै मिलियो भने मात्र परिणाम आउने बताउनुभएको छ।

सिराहमा नेपाली कांग्रेस आन्तरिक विशेष अभियान समापन समारोहलाई सम्बोधन गर्दै नेता डा. महतले यस्तो बताउनुभएको छ। डा. महतले भन्नुभयो, ‘‘कसैले पनि एक्लै परिणाम ल्याउन सक्दैन। बिपी कोइरालाले पार्टीको नेतृत्व गर्दा गणेशमान, कृष्णप्रसाद र सुवर्णशमशेरको आवश्यकता परेको थियो। अहिले त्यस्तो कोही पनि छैन। त्यसकारण कसैले वा कुनै पुस्ताकाले म भए सबै हुन्थ्यो, अरू भएर यस्तो भन्नु बेकारको कुरा हो।’’ 

उहाँले संस्थापक निर्णय लिएर जनताको बीचमा जानुपर्ने बताउनुभयो। संस्थागत कुरा सामाजिक सञ्जालमा उल्टापाल्टा गर्दा जनता दुबिधामा पर्ने उहाँको भनाइ छ। 

नेपाली कांग्रेसप्रति आस्था र समर्थनका बाबजुद मतदानका बेला रूपान्तरण नहुनुमा पार्टीभित्रको अनेकता जिम्मेवार रहेको उनको ठहर छ। उहाँले भन्नुभयो, ‘‘एकले अर्कालाई नसहने प्रवृत्ति जिम्मेवार छ। बरु अर्को पार्टीको जोसुकै होस, यो चाहिँ हुनुहुन्न, यो चाहिँ हारिजाओस् भन्ने मानसिकता हाबी छ।’’ 

पार्टीभित्र साथीसँगको मतभेद, असन्तुष्टि छ भने पनि आखिर यो पार्टीकै साथी हो, मेरो काम नगरे पनि पार्टीकै काम गर्छ, त्यसकारण म यसलाई मत हाल्छु भन्ने निष्कर्ष निकाल्नुपर्ने उहाँको भनाइ छ। 

नेपाली कांग्रेस पार्टी दुःख, सुख, अप्ठ्यारो सप्ठ्यारो, प्रवास, जेल, पुलिसको ठण्डा लोकतन्त्र र नेपाली नागरिकको अधिकार सुनिश्चित गर्नका लागि खाएको सम्झना गर्नुभयो। 

आफूले चुनेको जनप्रतिनिधिले शासन गर्ने व्यवस्था र ती जनप्रतिनिधिले काम गरेनन् भने हराएर अर्कोलाई निर्वाचित गर्ने व्यवस्था नेपाली कांग्रेसको अगुवाइमा भएको भन्दै उहाँले नेपालमा जति पनि आन्दोलन र परिवर्तन भए, नेपाली कांग्रेसको नेतृत्व बिना सम्भव नभएको दाबी गर्नुभयो।

‘‘नागरिकताको समस्या मधेशमा बढी छ, त्यसलाई अरू कसैले पार लगाउन सकेको थिएन, प्रतिपक्षी दल एमालेले नागरिकताको विषय अलमल्याएको सबैलाई थाहा छ’’, नेता डा. महतले भन्नुभयो, ‘‘मधेशवादी दलहरूले पनि त्यो विषयलाई निष्कर्षमा पुर्‍याउन सक्ने अवस्था थिएन। नेपाली कांग्रेसले मात्र निष्कर्षमा पुर्‍याउन सक्छ, कांग्रेसकै कारण अहिले कानुन बनेको छ।’’

भर्खर जन्मिएको राजनीतिक दलजस्तो कर्तव्यबाट भाग्ने पार्टी नेपाली कांग्रेस नभएको उहाँको भनाइ छ। उहाँले सरकार पूरा समय टिक्न विश्वास व्यक्त गर्नुभयो। ‘‘हामी परिणाम देखाएर काम गर्ने पक्षमा छौँ’’, उहाँले भन्नुभयो। 

सिराहको शिक्षा, स्वास्थ्य, कृषि उत्पादन, सडक सञ्जाल र भौतिक पूर्वाधारको विकासलाई सरकारले प्राथमिकतामा राख्ने बताउनुभयो। समयमै गृहकार्य गरेर आउँदो बजेटमा यो क्षेत्रको धेरै समस्या सम्बोधन गर्ने प्रयास गर्ने मन्त्री डा. महतले बताउनुभयो।

‘‘पार्टी नेतृत्वमा बढीभन्दा बढी महिलालाई जोड्नुपर्छ। महिला दिदीबहिनीहरूलाई जिम्मेवारी दिनुपर्छ। उहाँहरूलाई जिम्मेवारी दिइयो भने परिणाम देखाउनुहुन्छ’’ मन्त्री डा. महतले भन्नुभयो, ‘‘केन्द्रमा जतिसुकै ठुला कुरा गरे पनि वडा वा टोलमा हुने कांग्रेस कार्यकर्ता चलायमान भएन भने पार्टी बलियो हुँदैन। हामीले उत्साह भर्ने कोसिस मात्र गर्ने हो। हामी सबैसँग हरेक समय पुग्न सक्दैनौँ, जहाँ स्थानीय तहमा एकता छ, त्यहाँ कांग्रेसले जित्छ, नभएको ठाउँमा कांग्रेस पराजित हुन्छ। त्यसकारण स्थानीय तह सङ्गठनका लागि एकदमै महत्त्वपूर्ण छ।’’