काठमाडौं, साउन ३२ गते । नेपालमा पहिलो पटक ब्याडमिन्टन एसियाको आयोजनाको रूपमा ब्याडमिन्टन एसिया (साउथ एसिया) रिजनल च्याम्पियनसिप हुने भएको छ ।
ब्याडमिन्टनको डेभलपिङ राष्ट्रहरूमा यस खेलको प्रवर्द्धन गर्ने उद्देश्यअनुरूप एसिया ब्याडमिन्टनले यो कार्यक्रम नेपालमा आयोजना गरेको हो । नेपाल ब्याडमिन्टन सङ्घले बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गरी भदौ १ देखि ५ गतेसम्म यु–१५ र यु–१७ साउथ एसिया रिजनल च्याम्पियनसिप आयोजना गर्ने जानकारी दिएको हो ।
च्याम्पियनसिपमा दक्षिण एसियाका ६ डेभलपिङ राष्ट्र नेपालसहित भुटान, श्रीलङ्का, मालदिभ्स, बङ्गलादेश र पाकिस्तानको सहभागिता रहनेछ ।प्रतियोगिता हलचोकस्थित सशस्त्र प्रहरी बल (एपिएफ) को मुख्यालयमा हुनेछ ।
यस च्याम्पियनससिपमा यु–१५ तर्फ गल्र्स सिंगल्स, ब्वाइज सिंगल्स, ब्वाइज डबल्स, गल्र्स डबल्स र मिक्स गरी पाँच विधामा प्रतिस्पर्धा हुने नेपाल ब्याडमिन्टन सङ्घका अध्यक्ष राजीबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।
यस्तै यु–१७ मा पनि गल्स सिंगल्स, ब्वाइज सिंगल्स, गल्र्स डबल्स, ब्वाइज डबल्स र मिक्समा प्रतिस्पर्धा हुनेछ । दुवै उमेर समूहमा टिम प्रतिस्पर्धा समेत हुनेछ ।
आयोजक नेपालबाहेक पाँच राष्ट्रबाट समान आठ खेलाडीले प्रतिस्पर्धा गर्ने ब्याडमिन्टन एसियाकी इभेन्ट म्यानेजर एनजी एन मुनले जानकारी दिनुभयो । आयोजक राष्ट्र भएकाले नेपालले १६ खेलाडीलाई खेलाउने पक्का भएको ।
मुनले एसियामा रहेका ब्याडमिन्डनको अल्पविकसित राष्ट्रमा यस किसिमका कार्यक्रम सुरु गरिएको बताउनुभयो । व्यक्तिगत स्पर्धामा आयोजक राष्ट्रबाट तीन खेलाडीले एउटा स्पर्धामा प्रतिस्पर्धा गर्न पाउनेछन् ।
अन्य राष्ट्रका भने दुई खेलाडीको प्रतिस्पर्धा गर्न पाउने एसिया ब्याडमिन्टनले प्रावधान बनाएको छ । नेपालमा यो पहिलो रहेको र आगामी कार्यक्रम कम्बोडियामा हुने जानकारी उहाँले दिनुभयो ।
यस च्याम्पियनसिपबाट ओलम्पिक छात्रवृत्तिका लागि खेलाडी छनोट गरिने एसिया ब्याडमिन्टनका सिनियर डेभलपमेण्ट म्यानेजर थानाबलान एरिकृष्णनले बताउनुभयो । यस कार्यक्रमबाट एसियाभरबाट २० जना खेलाडी छनोट हुनेछन् ।
जसमा प्रत्येक देशबाट एक गल्र्स र ब्वाइज समावेश हुने एरिकृष्णनले जानकारी दिनुभयो । छनोट भएका खेलाडीले विश्व ब्याडमिन्टनको पावर हाउसको रूपमा रहेको मलेसियामा अभ्यास गर्न पाउनेछन् ।
नेपाल ब्याडमिन्टन सङ्घका अध्यक्ष राजीबहादुर श्रेष्ठले यस कार्यक्रम सुरुमा पाकिस्तानमा हुन लागेको र आफ्नै आग्रहमा नेपालमा ल्याइएको उल्लेख गर्दै यो च्याम्पियनसिपबाट नेपाली खेलाडीले धेरै फाइदा लिने विश्वास व्यक्त गर्नुभयो ।
यस्तै सङ्घका सदस्य दीपक थापाले नेपालमा एसियाली स्तरको प्रतियोगिता गर्न पाउनु ब्याडमिन्टन विकासका लागि राम्रो अवसर भएको बताउनुभयो ।