• २० असोज २०८१, आइतबार

भारतीय रुपियाँको दबदबाले नेपालमै नेपाली रुपियाँ अभाव

blog

पशुपतिनगर बजारमा किनमेलका लागि आएका भारतीय पर्यटकहरु । तस्विर : कोकिला ढकाल

कोकिला ढकाल

इलाम, साउन ३२ गते । सुन्दा पनि अचम्म लाग्छ । आफ्नो साथमा प्रशस्त नेपाली रुपियाँ छ तर उहाँहरूले रुपियाँको अभाव झेल्नु परिरहेको छ । यो बाध्यता इलामको पूर्वी सीमावर्ती क्षेत्रका नागरिकको हो । 

इलामको पशुपतिनगर बजार र त्यस आसपास अर्थात् भारतसँग सीमा जोडिएका क्षेत्रका नेपालीलाई रुपियाँको अभाव भइरहेको छ । नेपाली रुपियाँको अभावको मुख्यकारण भनेको भारतीय रुपियाँको कारोबार बढी भएर हो ।

पशुपतिनगर बजारसहित जिल्लाको पूर्वीक्षेत्रका अधिकांश किसानले उत्पादन गरेको कृषिउपज बिक्री गर्दा बढी मात्रामा भारत जानेगरेकाले त्यसको आम्दानी पनि भारतीय रुपियाँमै हुनेगरेको छ । भारतीय रुपियाँ सटही गरेर नेपाली रुपियाँ लिने ठाउँ नहुँदा यहाँका नागरिकले रकम अभाव समस्या झेल्नु परिरहेको स्थानीयको भनाइ छ ।  

‘नेपालमा पाँचसय रुपियाँ भारतीय नोट चल्दैन । भारतीय नागरिक घुम्न आउने र मालसामान खरिद गरेर लग्ने हुँदा उनीहरूबाट ५०, १०० र ५०० का भारतीय नोटहरू आउनेगरेका छन्’ पशुपतिनगरस्थित ट्याक्सी तथा जिप यातायात प्रालिका अध्यक्ष मिलन क्षेत्रीले बताउनुभयो ।

‘भारतीय नोट नलिँदा व्यापार व्यवसाय चल्दैन, लिँदा भारतीय नोटको सटही हुँदैन । नेपाल सरकारले कहिले पनि बुझ्न नसकेको पूर्वको समस्या भारतीय नोटको हो’  क्षेत्रीले गुनासो गर्नुभयो । पशुपतिनगरमै होलसेल किराना पसल गर्दैआएका लक्ष्मीप्रसाद प्रसाईँ (राजु) लाई करिब २२ दिनअघि १० लाख रुपियाँ भारतीय रकमसहित प्रहरीले पक्राउ गरेको थियो । 

पक्राउ पनि राजस्व अनुसन्धानले प्रसाईँबाट त्यसको डबल रकम धरौटी लिएर छोडेको क्षेत्रीले जानकारी दिनुभयो । ‘नेपालको कर प्रणालीमा दर्ता रहेका प्रसाईँको भारतीय १० लाख रुपियाँ लिएर हिँड्नु बाध्यता थियो । व्यापार कारोबारमा आएको रकम यहाँ सटही हुँदैन, कुनै पनि नेपाली बैङ्कले लिँदैन’ प्रसाईँले भन्नुभयो, “भारतबाटै सामान ल्याउन पशुपतिनगर नाका वैद्य नाका होइन, त्यसका लागि काँकडभिट्टा नै जानुपर्छ, रकम बोकेर हिँड्न पनि सरकारले दिँदैन ।’ 

यहाँका किसानहरूले उत्पादन गरेर बिक्री गरेको दूध, इस्कुस, आलु, गोलभेँडा, काँक्रा, मूला, धनियाँ, सागलगायतका कृषिजन्य उत्पादन बिक्री गर्नु र व्यापारीले दिएको भारतीय रुपियाँ लिनु दैनिकी रहेको कृषकको भनाइ छ ।

अहिले पशुपतिनगरमा व्यक्तिगत रूपमा सटही गर्न एक हजार भारतीय रुपियाँको नेपाली एक सय रुपियाँ लाग्ने गरेको छ । क्षेत्रीका अनुसार २०४० साल तिर भने पशुपतिनगरमा राष्ट्र बैङ्कको सटही काउन्टर रहेको थियो । त्यो काउन्टर अहिले हटाइएको छ ।  

नेपाली रुपियाँ खर्च गर्नु पनि सर्वसाधारणलाई समस्या भएको सूर्योदय नगरपालिका स्थित उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रमोद राईले बताउनुभयो । ‘सरकारी कामकाजका लागि वडा कार्यालयदेखि र बैङ्कको ऋण तिर्न नेपाली नै रकम आवश्यक पर्ने हुँदा नेपाली रकम खर्चेर पनि भारतीय रुपियाँ सटही गर्नु बाध्यता छ’ अध्यक्ष राईले भन्नुभयो, ‘हामीले यो समस्या फुकाउन नेपाल सरकारलाई आग्रह गरेका छौँ । तर सुनुवाइ भएको छैन ।’ 

भारतीय रकम सटही नहुँदा भारतीय पर्यटकलाई समेत समस्या परेको सूर्योदय नगरपालिका –२ का वडाध्यक्ष डिकबहादुर बम्जनले बताउनुभयो । नगरपालिकाले २२ दिन अघिमात्र स्थापना गरेको पर्यटन सूचना केन्द्रमा आइपुग्ने पर्यटकहरूले पनि सटहीको समस्या झेलिरहेको उहाँको भनाइ छ । 

साउन १५ गते इलाम आउनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुधन किरातीसँग पनि यो क्षेत्रका नागरिकको अपेक्षा थियो । किरातीले आफ्नो सम्बोधनमै आफू काठमाडौँ फर्किएर प्रधानमन्त्री र नेपाल राष्ट्र बैङ्कका गभर्नरसँग भारतीय रुपियाँ सटहीको आवश्यकता विषयमा कुरा गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।