• १ जेठ २०८१, मङ्गलबार

सेफ्टी ट्याङ्कीमा परेर जङ्गली हात्तीको मृत्यु

blog

महेन्द्रनगर,  साउन ३२ गते । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा गए राति जङ्गली हात्तीको मृत्यु भएको छ ।

यहाँको शुक्लाफाँटा नगरपालिका–७ स्थित वातावरण मध्यवर्ती सामुदायिक वन कार्यालय परिसरमा रहेको शौचालयको सेफ्टी ट्याङ्कीमा परेर एक जङ्गली हात्तीको मृत्यु भएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोरकुमार मेहताले जानकारी दिनुभयो ।

“राति १२ बजेपछि जङ्गली हात्ती आएर सेफ्टी ट्याङ्कीमा पछाडिको खुट्टा परेर मृत्यु भएको देखिएको छ ।” प्रमुख संरक्षण अधिकृत मेहताले भन्नुभयो, “अहिले प्राविधिकसहितको टोली गएर घटनास्थल मुचुल्का सङ्कलन गर्ने काम भइरहेको छ ।”

उहाँले जङ्गली हात्ती बथानमा आएको हुनसक्ने बताउँदै मृत्यु भएको हात्ती एक्लै छुटेर त्यहाँ आएको हुनसक्ने बताउनुभयो । “सो सम्बन्धमा थप अनुसन्धान भइरहेको छ”, उहाँले भन्नुभयो, “विधि प्रक्रिया पुर्याएर हात्तीको दाहसंस्कार गरिनेछ ।” रासस