• १३ मंसिर २०८१, बिहिबार

उपप्रधानमन्त्री श्रेष्ठद्वारा तेक्वान्दो टोलीको बिदाइ

blog

खेलाडीको बिदाइ गर्नुहुँदै उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ ।

काठमाडौं, साउन ३१ गते । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले खेलाडीहरू राष्ट्रको गौरव भएको र खेलकुद क्षेत्रले राष्ट्रिय एकताको सन्देश दिने बताउनुभएको छ । 

काजकिस्तानको अस्तानामा अगस्ट १८ देखि २७ सम्म आयोजना हुने ‘२२औँ वर्ल्ड तेक्वान्दो प्रतियोगिता’मा भाग लिन जाने खेलाडीलाई बुधबार सफलताको शुभकामना दिने क्रममा गृह मन्त्रालयमा आयोजित कार्यक्रममा उहाँले उक्त कुरा बताउनुभएको हो ।

उपप्रधानमन्त्री श्रेष्ठले खेलाडीको बिदाइ पनि गर्नुभयो । उहाँले सरकारले आवश्यक नीति र योजना बनाएर खेल क्षेत्रलाई विशेष प्राथमिकता दिने पनि  बताउनुभयो । त्यसक्रममा उपस्थित खेलाडीहरूले गृहमन्त्रीको भ्रष्टाचारविरोधी अभियानलाई ताली पिटेर स्वागत गर्दै यसले जनतामा आशा र उत्साह पलाएको बताएका थिए।

प्रतियोगितामा रुविका खड्काले ७० केजी, सुस्मिता थापाले ५२ केजी,  पुकार केसीले ६४ केजी र अजय बुढामगरले ७० केजीमा प्रतिस्पर्धा गर्नुहुनेछ । रुविका र सुस्मिता साफ प्रतियोगिताका स्वर्ण विजेता खेलाडी हुनुहुन्छ ।

टोलीमा अम्पायर अञ्जन धमला, कोच रूपसिंह मोक्तान तथा अफिसियलमा धनबहादुर थापा र विक्रम बुढामगर हुनुहुन्छ । प्रतियोगितामा ९३ देशका ९ सय भन्दाबढी खेलाडीको सहभागिता रहनेछ ।