• ४ जेठ २०८१, शुक्रबार

कर्मचारी आन्दोलनले नगरपालिकाको काम ठप्प

blog

नगरपालिका भवन परिसरमा धर्ना दिदै गौशाला नगरपालिकाका कर्मचारी । तस्बिर : रवीन्द्र उप्रेती

रविन्द्र उप्रेती 

वर्दिवास, साउन ३१ गते । गौशाला नगरपालिकाका उपप्रमुख रेनुकमारी महतोको दुर्व्यवहार विरोधमा नगर कर्मचारीले सेवा ठप्प पारी विरोधका कार्यक्रम ठप्प परेका छन् । 

उपप्रमुख महतोले राजस्व शाखाका नायवसुब्बा दीपेन्द्र यादवलाई सोमवार कार्यकक्षमै दुर्व्यवहार गरेको कर्मचारीको आरोप छ । घटनाको छानबिनको माग गर्दै कर्मचारीले विरोधको कार्यक्रम जारी राखेका छन् ।

उपमेयरविरुद्ध विभिन्न नारा लेखिएका प्लेकार्डसहित हातमा कालोपट्टी बाँधेर कर्मचारी धर्नामा बसेका कारण १२ वटै वडाको सेवाप्रवाह प्रभावित भएको सेवाग्राहीको भनाइ छ । 

नगर कर्मचारी आन्दोलनमा उत्रेपछि घटना दर्ता, विभिन्न सिफारिस, जग्गा किनबेच, सामाजिक सुरक्षा भत्ताजस्ता काम अवरुद्ध भएपछि आफूहरू मर्कामा परेको एक सेवाग्राहीले गुनासो गर्नुभयो ।  

घटनालगत्तै नगर कर्मचारीले सोमवार अपराह्न विज्ञप्ति जारी गर्दै दुर्व्यवहारको निन्दा र दोषीमाथि कारबाही नभएसम्म अनिश्चितकालीन विरोधको कार्यक्रम गर्ने जनाएका छन् ।   

आन्दोलनरत कर्मचारीले सुरक्षा प्रत्याभूति, घट्ना छानबिन तथा उपप्रमुखमाथि कारबाहीको माग राख्दै प्रमुख जिल्ला अधिकारीलाई समेत ज्ञापनपत्र बुझाएका छन् । प्रशासन कार्यालयले आवश्यक कारबाहीका लागि उक्त ज्ञापनपत्र जिल्ला प्रहरीमा पठाइएको सहायक प्रजिअ उपेन्द्र न्यौपानेले बताउनुभयो । 

उपप्रमुख रेनुकुमारी महतोले आरोप कपोलकल्पित, नियोजित र दुराशयपूर्ण रहेको भन्दै आरोपको खण्डन गर्नुभएको छ । ‘आरोपको आधार र प्रमाण के छ ?’ उहाँले प्रतिप्रश्न गर्नुभयो, ‘मैले राजस्वसम्बन्धी फाइल माग्दा नदिनु पर्ने कारण के हो ?’ 

आफूलाई जानकारी नदिई ठेक्का लगाउने काम भएको उहाँको भनाइ छ ।   ठेक्कासम्बन्धी कागजात माग्नु नै दुर्व्यवहार हो ?’ उपप्रमुखले प्रश्न गर्नुभयो ।

उपमेयरले बजार ठेक्का र अनलाइन प्रक्रियाबाट लगाएको ठेक्कासम्बन्धी कागजात माग गरेको कुरा सही भएको नासु दीपेन्द्र यादवले स्विकार्नुभयो । नदिएपछि आफूमाथि दुर्व्यवहार भएको उहाँले बताउनुभयो ।