• १३ मंसिर २०८१, बिहिबार

पालिकाले रैथाने बाली बेच्ने

blog

जुम्ला समाचारदाता

जुम्ला, साउन ३१ गते । जुम्लाको सिँजा गाउँपालिकाले पालिकामा उत्पादित रैथाने बालीको खरिद र बजारीकरण गर्ने भएको छ। सिँजा गाउँपालिकाले रैथाने बाली बजारीकरणका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडसँग सम्झौता गरेको छ। 

गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालका अनुसार गाउँपालिकामा उत्पादन हुने रैथाने बालीको संरक्षण, उत्पादन गरी किसानलाई सहजै बजारीकरणमा टेवा पु-याउन कम्पनीसँग शनिबार सम्झौता गरिएको हो। गाउँपालिका अध्यक्ष धिताल र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्दले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो।

गाउँपालिकाले कालीमार्सी धान, चामल, सिमी फापर, चिनो, कागुनो, मास, भटमास र कोदोलगायत स्थानीय बालीको उत्पादनमा किसानलाई प्रोत्साहन गर्ने योजना अघि सारेको छ। गाउँपालिकाले किसानसँग वा कृषक समूह, सहकारी समूह किसानलाई लाभ पुग्ने गरी सिधै पालिकाले खरिद र सङ्कलन गरी खाद्य कम्पनीलाई बिक्री गर्ने छ। वैशाख २० गते बसेको जिल्लास्तरको खाद्य व्यवस्था समितिको बैठकले जिल्लाका स्थानीय तहको रैथानेबाली बजारीकरणका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग अनुरोध गर्ने निर्णय गरेको थियो। सो निर्णयको कार्यान्वयन सिँजा गाउँपालिकाबाट भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड जुम्लाले जनाएको छ।