• १४ मंसिर २०८१, शुक्रबार

गाउँले मिलेर ६५ घरमा धारा

blog

भीर कोट नगरपालिका २ केघाको ४९ बर्षीया दुरमयाा गुरुङले आफ्नै घरको धारामा पानी थाप्दै । तस्बिर: अर्जुन काफ्ले

अर्जुन काफ्ले 

स्याङ्जा, साउन ३१ गते । सरकारले एक घर एक घारा पुर्याउने लक्ष्य लिएर अगाडी बढीरहदाँ भीर कोट नगरपालिका २ केघाका स्थानीयले सरकारलाई चुनौती दिँदै घर घरमा धारा पुर्‍याएका छन् । 

सरकारलाई पटक पटक आग्रह गर्दा पनि गाउँमा खानेपानी बिकरलाल भएपछि विकल्पमा स्थानीयले क्लब, आमा समूह, विदेश गएका स्थानीय युवा र पानीको धारा लगेका घरधुरीबाट रकम सङ्कलन गरेर घर घरमा पुर्‍याउन सफल भएको हो । 

निर्माण समितिका अध्यक्ष खेम बहादुर गुरुङले देउराली आमा समूहले  दुई लाख, लालीगुराँस युवा क्लबले एक लाख,  पानी लगेका (६५) घरधुरीबाट तीन लाख २० हजार र देश तथा विदेशमा रहेकाबाट आठ लाख ८० हजार गरी १५ लाख रुपियाँ सङ्कलन गर्न सफल भएपछि घर घरमा धारा पुर्‍याउन सफल भएको बताउनुभयो ।  

४० वर्ष पहिला गाउँ भन्दा नौ किलोमिटर टाढा वालिङ नगरपालिका ३ माझकोटबाट पानी ल्याएर टाङकीको धाराबाट खानेपानी खाएका यहाँका स्थानीयले नौ वर्ष पहिला २० हजार लिटरको ट्याङ्की बनाएर थप पाँच टोलमा एक एक घारा थपेका थिए । 

एक धारा बराबर १२ घरधुरीले विगतमा खानेपानी खाएको बताउँदै गुरुङले स्थानीयले सरकारको सुनुवाइ नगरेपछि आफै रकम सङ्कलन गरेर घर घरमा पानी ल्याएको बताउनुभयो । 

६६ वर्षीया पानु गुरुङले पानीका कारण धेरै दुख गुनासो गर्दै बिहान धारामा पुगेर लाइनमा बस्दा कुनै दिन एक गाग्री त कुनै दिन खाली फर्कनु परेको बताउनुभयो । 

गुरुङ, मगर तथा दलित बस्ती रहेको यहाँ स्थानीय ७२ बर्षीया खगिसरा बिकले ६५ घरधुरीका स्थानीयको विगतमा खानेपानीको ठुलो दुख पाएको गुनासो गर्नुभयो । 

टोल टोलको धाराबाट घर घरमा धारा आएको बताउँदै विगतमा आफूले दुख पाए पनि बुहारी, छोरा–छोरीको लागि स्वर्णिम दिन आएको विकको भनाई थियो । 

निर्माण समितिका सचिव अरुण कुमार गुरुङले योजनाबाट नजिकैको भीर कोट २ कालिका टोल र भीर कोट ३ बजादीका थप २८ घरका स्थानीयले पानी लगेर खाने गरेको र अब केही समयमै घर घरमा धारा पुग्ने बताउनुभयो । 

योजना सम्पन्न गर्न सहयोग गर्नेलाई धन्यवाद दिँदै गुरुङले निर्वाचनका बेला प्रचारमा आउनेले खानेपानी घर घरमा ल्याइदिने बाचा गर्नेलाई आस देखाउन भन्दा पनि काम गर्न आग्रह गर्नुभयो । 

खानेपानी योजनाको लागि भीर कोट नगरपालिकाले २०, २५, ३२ र ४० इन्चको पाइप छ हजार सात सय मिटर पोलिथिन पाइप सहयोग गरेको थियो ।