• २३ पुस २०८१, मङ्गलबार

पोखरा महानगरले खटाएको ठाउँमा गएनन् स्वास्थ्यका कर्मचारी

blog

पोखरा महानगरपालिका भवन ।

रमेश पाैडेल

पोखरा, साउन ३० गते। पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखाअन्तर्गत कार्यरत विभिन्न पदका स्वास्थ्य प्राविधिकमध्ये बाहिर जिल्ला र पालिकामा दरबन्दी रही कामकाजमा आएका ४४ जना कर्मचारीको काज फिर्ता भएको छ। काज फिर्ता भएका कर्मचारीहरू आफू नियुक्त भएको स्वास्थ्य कार्यालयमा जान आनाकानी गर्दा सेवाग्राही मारमा परेका छन्। 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत असार १७ गते मन्त्रीस्तरीय निर्णय गरी दरबन्दी रहेको स्थानमै फिर्ता हुन निर्देशन जारी गरेको थियो। मन्त्रालयको परिपत्र कार्यान्वयन गर्न महानगरको कार्यपालिका बैठकले निर्णय गराई कामकाजका कर्मचारीलाई साउन १६ देखि स्वास्थ्य महाशाखा र अन्तर्गतमा हाजिर नगराउन स्वास्थ्य महाशाखालाई परिपत्र गरेको थियो। सो निर्देशनमा आधारित भएर ३० जना कर्मचारीपत्र र रमाना बुझी हाजिर हुन गइसकेको पोखरा महानगरपालिकाका सूचना अधिकारी किरण कोइरालाले बताउनुभयो। 

महानगरमा समायोजन ऐन २०७५ बमोजिम विभिन्न पद र समूहका कर्मचारीको समायोजन हुँदा स्वीकृत दरबन्दीभन्दा बढी भएकाले ९ कर्मचारी रिक्त दरबन्दीमा पदस्थापन हुन नसकी फाजिलमा समेत परेका थिए। दुई तीन वर्षपछि सेवामुक्त हुनेकेही कर्मचारीका कारण स्वास्थ्यचौकीतर्फ पद खाली हुँदासमेत आफूलाई पदस्थापन गर्नेतर्फ उनीहरूले कुनै पहल नगरी हालसम्म मनोमानी गरेको विभागका एक कर्मचारीले बताउनुभयो। 

मन्त्रालयको दरबन्दीभन्दा बाहिरका कर्मचारीलाई तलब भत्ता खुवाउन नसकिने ब्यहोरा विभागले जानकारी गराए पनि केही कर्मचारीले बेवास्ता गरेको बताइएको छ। प्रशासन महाशाखाले  रिक्त स्थानमा पदस्थापन गरेर तोकिएको स्वास्थ्य संस्थामा काम गर्न जानू भनी पत्र थमाउँदासमेत केही कर्मचारी राजनीतिक जोडबल, कुनै कानुनी मान्यता नभएको स्थानीय तह कर्मचारी सङ्गठन नाम दिएर महानगर प्रशासनलाई दबाब सिर्जना गरेको समेत बुझिएको छ। कर्मचारी तोकिएको स्थानमा हाजिर गर्न नजाँदा जनताको स्वास्थ्य सेवा पाउने नैसर्गिक अधिकारबाट वञ्चित भएका छन्। 

यस बारेमा पोखरा महानगरपालिका वडा नम्बर २० का अध्यक्ष गङ्गाबहादुर खत्रीले स्वास्थ्यका केही कर्मचारी आफ्नो वडाको स्वास्थ्य कार्यालय मौजामा हाजिर हुन नआउँदा सेवाग्राही मर्कामा परेको बताउनुभयो। उहाँले ६ जनाको दरबन्दी रहेकोमा २ जनाले मात्र सेवा प्रदान गरेको पनि उल्लेख गर्नुभयो। एक वर्षदेखि कार्यालय सहयोगीसमेत नभएको उहाँको भनाइ थियो।