• २० असोज २०८१, आइतबार

इलामको बेलासेलाई जलवायु अनुकूलन गाउँ बनाइने

blog

इलाम नगरपालिकाको ११ नम्बर वडामा रहेको बेलासे गाउँ । तस्बिर : प्रेम अधिकारी

प्रेम अधिकारी
पशुपतिनगर (इलाम), साउन २८ गते ।
इलाम नगरपालिकाको ११ नम्बर वडामा रहेको बेलासे गाउँलाई जलवायु अनुकूलन गाउँ बनाइने भएको छ । क्यानडा कोषकोे सहयोगमा नामसालिड सामुदायिक विकास केन्द्र इलामले बेलासेलाई  जलवायु अनुकूलन गाउँ बनाउनका लागि पहल थालेको हो ।

‘नमुना जलवायु अनुकूलित गाउँमार्फत जलवायु उत्थानशीलता बढाई प्राकृतिक तथा जलवायु परिवर्तन प्रेरित प्रकोपको प्रभाव न्यूनीकरण गर्ने’ परियोजना आठ महिनासम्म सञ्चालन हुने भएको छ ।

स्थानीय समुदायलाई जलवायु अनुकूलित गाउँ निर्माणसम्बन्धी सचेतना कार्यक्रम  बेलासेमा सम्पन्न गरिएको छ । कार्यक्रममा नामसालिड सामुदायिक विकास केन्द्र इलामका टीम लिडर हीराकाजी घले, इञ्जिनियर घनेन्द्र भण्डारी, कार्यक्रम अधिकृत सुबाेध निरौलाले परियोजनाको बारेमा जानकारी गराउनुभएको थियो । इलाम नगरपालिका वडा ११ का अध्यक्ष टासी जवेगुले जलवायु अनुकूलन गाउँ निर्माण गर्दा अपनाउनुपर्ने सजगता बारे स्थानीयलाई जानकारी गराइएको बताउनुभयो ।

झापा इलाम द्रुतमार्गमा पर्ने बेलासे वरपर रहेका ५० घरपरिवार लाभान्वित हुने गरी परियोजना सञ्चालन गरिने कार्यक्रमका टीम लिडर हीराकाजी घलेले जानकारी दिनुभयो । इलाम नगरपालिकाको साझेदारीमा सञ्चालन हुने परियोजनासम्बन्धी सचेतना तालिम सञ्चालन गरिएको थियो ।

परियोजनामार्फत बेलासेको बाँझो जमिन सिंचाइ गरी जलवायु अनुकूलित खेती प्रणाली अवलम्बन गरिने भएको छ । माखोला आसपासको बेलासेमा हजारौं  जमिन बाँझै रहेको र त्यहाँ सिंचाइको व्यवस्था भएमा हराभरा बनाउन सकिने स्थानीय पदम लोक्तामले बताउनुभयो । 

परियोजनामार्फत बाँझो जमिन सिंचाइका लागि माखोलाको पानी सोलार लिफ्टिङ गरी ल्याइने भएको छ । कुल ६५ लाख ४५ हजार ६३६ रुपियाँ लागतमा सञ्चालन हुने परियोजनामा जलवायु प्रभावको बारेमा सचेतना, जलवायु अनुकूलन खेती प्रणाली र गाउँको योजना निर्माण गरिने भएको छ ।