• ११ असोज २०८१, शुक्रबार

अझै खुलेन कालीगण्डकी कोरिडोर

blog

ढोरपाटन (बागलुङ), साउन २७ गते । भारी वर्षासँगै झरेको पहिराका कारण राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोर पुनः अवरुद्ध भएको छ । आयोजनाको बागलुङ–कुश्मीसेरा खण्डअन्तर्गत बागलुङ नगरपालिका-१० दब्ल्याङमा सडकमाथिबाट झरेको पहिराले कोरिडोर अवरुद्ध बनाएको हो ।

शुक्रबार दिउँसो करिब २० घण्टापछि सञ्चालनमा आएको उक्त सडक गएराति १२ बजेदेखि पुनः अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले पनि भारी वर्षा भइरहेकाले सडक खुलाउन समस्या भइरहेको छ । 

वर्षा रोकिएपछि सडक सञ्चालनका लागि पहल गरिने प्रहरी नायब उपरीक्षक केसीले बताउनुभयो । उहाँका अनुसार सडक अवरुद्ध हुँदा कालीगण्डकी कोरिडोरमा चल्ने जिल्लाको दक्षिणको जैमिनी, बलेवा र बरेङ क्षेत्रका सवारीसाधन ठप्प भएका छन् । 

दिनदिनै सडक अवरुद्ध हुन थालेपछि दक्षिण क्षेत्रमा सामान ढुवानी गर्न तथा आवागमनमा समस्या भइरहेको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताउनुभयो । “पहिरोले निकै दुःख दिइरहेको छ । कोरिडोरमा पहिरो खस्दा बागलुङ र जैमिनी नगरपालिका तथा बरेङ गाउँपालिका भएर दैनिक यात्रा गर्ने हजारौँ नागरिक प्रभावित बनेका छन्”, उहाँले भन्नुभयो, “यसको दीर्घकालीन समाधानका लागि प्रदेश सरकारसँग छलफल गरेका छौँ । काम सुरु भएको छैन ।” पहिराले कोरिडोरका साथै वैकल्पिक सडकलाई पनि क्षति पुर्‍याएको  छ । रासस