• २५ वैशाख २०८१, मङ्गलबार

मेस्सी चम्किएपछि मियामी सेमिफाइनलमा

blog

गोल गरेपछि लियोनल मेस्सी । तस्बिर : एपी

काठमाडौं, साउन २७ गते । अर्जेन्टिनी कप्तान लियोनल मेस्सी चम्किएपछि इन्टर मियामी लिग्स कप–२०२३ को सेमिफाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा शनिबार बिहान भएको खेलमा मियामीले एफसी चार्लोटलाई ४–० गोलले हरायो । 

मियामीको जितमा मेस्सी, जोसेफ मार्टिनेज र रोबर्ट टेलरले एक एक गोल गर्नुभयो । मियामीले अर्को गोल चार्लोटका एडिल्सन मालान्डाबाट आत्मघाती उपहार पाएको थियो । एकपक्षीय खेलमा मार्टिनेजले १२औँ मिनेटमा पेनाल्टीमा गोलको खाता खोल्नुभयो ।

टेलरले ३२औँ मिनेटमा गोल गर्दै टोलीको अग्रता दोब्बर बनाउनुभयो । ७८औँ मिनेटमा अदिल्सन मालान्दाले आत्मघाती गोल गरेपछि मियामी थप बलियो बन्यो । त्यसपछि ८६औँ मिनेटमा मेस्सीले गोल गर्दै टोलीलाई सजिलै जिताउनुभयो । मेस्सीको यो जारी प्रतियोगितामा आठौं गोल हो । मेस्सीले लगातार पाँचौं खेलमा गोल गर्नुभएको हो । 

यसै सिजन फ्रान्सको पेरिस सेन्ट जर्मेन (पीएसजी) छाडेर मियामी पुग्नुभएका मेस्सीले त्यहाँ सानदार प्रदर्शन गरिरहनु भएको छ । सेमिफाइनलमा मियामीले फिलाडेल्फिया युनियन र क्वेरेटारोको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । एजेन्सी