• १२ जेठ २०८१, शनिबार

फिफा महिला विश्वकप फुटबल

स्पेन र स्विडेन सेमिफाइनलमा

blog

नेदरल्यान्ड्सविरुद्ध गोल गरेपछि स्पेनका खेलाडी । तस्बिर : एपी

काठमाडौं, साउन २६ गते । स्पेन र स्विडेन फिफा महिला विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । विलिंघटनमामा शुक्रबार भएको खेलमा स्पेनले साविक उपविजेता नेदरल्यान्ड्सलाई अतिरिक्त समयमा २–१ गोलले हरायो । अर्को खेलमा स्विडेनले जापानलाई २–१ गोलले नै स्तब्ध बनायो । 

निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि अतिरिक्त समयमा स्पेनले निर्णायक गोल गरेको थियो । स्पेनको जितमा मारियोना ओलिभर काल्डेन्टे र साल्मा पारालुइलोले गोल गर्नुभयो । नेदरल्यान्डस्का लागि स्टेफनी भान डेर ग्राटले गोल गर्नुभयो ।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । मारिओनाले ८१औं मिनेटमा गोल गर्दै स्पेनको उत्साह जगाउनुभयो । ९०औं मिनेटमा स्टेफनीले गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभयो ।

त्यसपछि अतिरिक्त समयमा धकेलिएको खेलमा एक सय ११औं मिनेटमा साल्माले गोल गर्दै स्पेनको सेमिफाइनल यात्रा पक्का बनाउनुभयो । सन् २०१५ बाट महिला विश्वकप खेल्न थालेको स्पेन पहिलो पटक फिफा महिला विश्वकपको सेमिफाइनलमा पुगेको हो ।


यसैगरी न्युजिल्यान्डको अकल्यान्डस्थित इडेन पार्कमा भएको अर्को सेमिफाइनलमा स्विडेनलाई जिताउन अमान्डा इलेस्टेडेटले ३२औं  र फिलिपा एन्जलडेटले ५१औं मिनेटमा गोल गर्नुभयो । जापानका लागि होनोका हायाशीले ८७औं मिनेटमा सान्त्वना गोल फर्काउनुभयो ।

स्विडेन पाँचौ पटक फिफा महिला विश्वकपको सेमिफाइनलमा पुगेको हो । सन् २००३ को उपविजेता स्विडेन सन् १९९१, २०११ र २०१९ मा तेस्रो भएको थियो । सेमिफाइनलमा स्डिेन र स्पेनबीच प्रतिस्पर्धा हुनेछ । एजेन्सी