काठमाडौँ, साउन २६ गते । पासाङ ब्लोनले शुक्रबार पाँचौँ धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिता–२०८० अन्तर्गत प्लेट विधाको उपाधि जित्नुभएको छ । सुक्रबार भएको फाइनल खेलमा पासाङले विनायक श्रेष्ठलाई ११–८, ११–८, ११–९ ले सोझो सेटमा हराउनुभयो ।
यसैगरी, महिला एकलको फाइनल राष्ट्रिय च्याम्पियन विपना ब्लोन र गत संस्करणको विजेता कृष्णा थापाबीच हुने भएको छ । पाँच खेलाडी सामेल राउन्डरोविनमा यी दुवैले तीन/तीन खेल जितेपछि शीर्ष दुई स्थानमा रहेर विपना र कृष्णा शनिबार हुने फाइनलमा पुग्नुभएको हो ।
अन्तिम दिन शनिबार पुरुषतर्फको फाइनलमा साविक विजेता अरहन्त केशर सिंह र दीपक थापा तथा यू–१९ युथमा पासाङ ब्लोन र विकास मगरबीच प्रतिस्पर्धा हुनेछ ।