• २१ वैशाख २०८१, शुक्रबार

ऊर्जा उद्यमीका जायज समस्या समाधान गर्छौँ : ऊर्जामन्त्री बस्नेत

blog

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत र नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाललगायतका पदाधिकारी । तस्बिर : रासस

काठमाडौँ,  साउन  २६ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले ऊर्जा क्षेत्रमा देखिएका समस्या सामूहिकरुपमा समाधान गर्ने बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाललगायतका पदाधिकारीसँग आज ऊर्जा मन्त्रालयमा भएको छलफलमा उहाँले सरकार र निजी क्षेत्रको सामूहिक प्रयासबाट मात्रै सबै समस्याको निरुपण हुने बताउनुभयो । 

सरकार र निजी क्षेत्रको सार्थक प्रयासबाट मात्रै ऊर्जा क्षेत्रको बृहत्तर विकास र विस्तार हुने तथा नयाँ अवसरको सिर्जना हुने मन्त्री बस्नेतको भनाइ छ । 

ऊर्जा क्षेत्रको विकासका लागि आन्तरिक लगानीकर्तालाई प्रवर्द्धन गर्ने सरकारको योजना रहेको स्पष्ट पार्दै उहाँले भन्नुभयो, “आन्तरिक लगानीकर्तालाई प्रवर्द्धन गरेमात्रै विदेशी लगानी पनि भित्र्याउन सकिन्छ । हामीलाई थप लगानी चाहिएको छ । त्यसका लागि कानुनी तथा नीतिगत प्रबन्ध गर्न लागिएको छ ।” 

उहाँले आन्तरिकरुपमा पनि नदी करिडोरलाई केन्द्रमा राखेर चार सय केभी क्षमताका छ वटा प्रसारण लाइन निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको र त्यसले केही समयभित्रै सार्थकता पाउने बताउनुभयो । ऊर्जामन्त्री बस्नेतले निजी क्षेत्रलाई पनि प्रसारण लाइन निर्माण तथा विद्युत् व्यापारमा सहभागी गराउने उद्देश्यका साथ सरकारले नीतिगत प्रबन्ध गर्न लागेको स्पष्ट पार्नुभयो । 

उत्पादन, वितरण र प्रसारणलाई एकीकृतरुपमा अगाडि बढाउने उद्देश्यका साथ सरकारले एकीकृत कार्ययोजना बनाएर काम थालिसकेको जानकारी दिँदै उहाँले आफूहरुको जोड आन्तरिकरुपमा बिजुलीको खपत बढाउने नै भएको बताउनुभयो । आन्तरिकरुपमा खपत गरेर बढी भएको बिजुली मात्रै निकासी गर्ने सोचका साथ सरकारले काम गरिरहेको मन्त्री बस्नेतको भनाइ छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को हालै सम्पन्न भारत भ्रमणमा भएको सहमतिअनुसार १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यातसम्बन्धी विषयले समेत छिट्टै सार्थकता पाउने उहाँको भनाइ छ ।

यस्तै, बङ्गलादेशसँग पनि बिजुली निर्यातका लागि छिट्टै सम्झौतामा हस्ताक्षर हुने उहाँको भनाइ छ । बङ्गलादेशले तत्काल नै ४० मेगावाट बिजुली लैजाने तयारी गरेको छ । उहाँले निजी क्षेत्रलाई पूर्णरुपमा साथमा लिएर नै सरकार अगाडि बढ्न लागेको र सरकार, निजी साझेदारीलाई थप परिस्कृत कार्ययोजनाका साथ अगाडि बढ्ने बताउनुभयो । निजी क्षेत्रको प्रवेशपछि ऊर्जा क्षेत्रमा गुणात्मक परिवर्तन भएको विषयमा आफू जानकार भएकाले थप लगानीका लागि आग्रह गर्नुभयो । 

उहाँले केही आयोजनामा आवश्यक पर्दा मात्र नेपाल विद्युत् प्राधिकरणले बिजुली लिएको भन्ने निजी क्षेत्रको गुनासो सम्बोधन गर्न सम्बद्ध निकायसँग छलफल गर्ने स्पष्ट पार्नुभयो । मन्त्री बस्नेतले विराटनगर, वीरगञ्जलगायतका औद्योगिक क्षेत्रमा देखिएको बिजुलीको समस्या समाधान गर्न आफू तत्पर रहेको उल्लेख गर्नुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष ढकालले प्राधिकरणले आवश्यक पर्दा मात्रै बिजुली किन्ने गरेकोले सबै उत्पादित बिजुली बिक्री गर्न नपाउँदा लगानीकर्ता समस्यामा परेको बताउनुभयो । दोर्दी करिडोरमा प्रसारण लाइनको समस्याका कारण सञ्चालित आयोजना पूर्ण क्षमता चल्न नसकेको उहाँको भनाइ छ । अध्यक्ष ढकालले निजी क्षेत्रलाई लगानीका लागि सरकारले उत्प्रेरित गर्न ऊर्जामन्त्रीलाई आग्रह गर्नुभयो । 

यस्तै, उद्योगी व्यवसायीले भोल्टेजको समस्या भोगेको तथा पटकपटक बत्ती काटिँदा औद्योगिक क्षमता घटेको र उपकरणमा समस्या देखिएको भन्दै तत्काल समाधान गर्न अध्यक्ष ढकालले आग्रह गर्नुभयो । अध्यक्ष ढकालले वैदेशिक लगानी भित्र्याउनका लागि निजी क्षेत्रले सार्थक पहल गरिरहेको जानकारी दिनुभयो । सो अवसरमा महासङ्घका अध्यक्ष ढकालले मन्त्री बस्नेतलाई ऊर्जा उद्यमीले बेहोर्नुपरेको समस्या समेटिएको ज्ञापनपत्रसमेत बुझाउनुभएको थियो । रासस