• १३ साउन २०८१, आइतबार

कर्णालीबाट अख्तियारमा बढ्यो उजुरी

blog

छिन्चु समाचारदाता

सुर्खेत, साउन २६ गते । कर्णाली प्रदेशबाट अख्तियारमा उजुरी बढेको बढ्यै छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयका अनुसार गत तीन आर्थिक वर्षमा प्रदेशका १० जिल्लाबाट विभिन्न माध्यमबाट चार हजार ७३४ वटा उजुरी अख्तियारमा दर्ता भएका छन्। 

आयोगको सुर्खेतस्थित कार्यालयका अनुसार आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ को तुलनामा गत आर्थिक वर्ष २०७९/८० मा दोब्बर सङ्ख्यामा अनियमितताका उजुरी परेका छन्। आव २०७७/७८ मा एक हजार २८२ वटा उजुरी दर्ता हुँदा आव २०७८/७९ मा एक हजार ४३२ उजुरी दर्ता भएका थिए। गत आव २०७९/८० मा यो सङ्ख्या दोब्बरले बढेर दुई हजार ८२ पुगेको थियो। 

तीन वर्षको अवधिमा आयोगमा परेका उजुरीमध्ये दुई हजार ६३४ मुद्दा फस्र्योट भएको आयोगको सुर्खेत कार्यालयको तथ्याङ्कमा छ। आयोगका अनुसार आव २०७७/७८ मा ५७५, आव २०७८/७९ मा ९०९ र आव २०७९/८० मा एक हजार १५० उजुरी फस्र्योट भएका छन्। उजुरीमध्ये २८८ वटा विस्तृत अनुसन्धानमा गएका छन्। विस्तृत अनुसन्धानमा गएकामध्ये ११३ उजुरीको प्रतिवेदन आयोगमा पेस भइसकेको छ।

आयोगको क्षेत्राधिकारभित्र पर्ने कर्णालीका १० जिल्ला र लुम्बिनीका एक जिल्लामा परेका उजुरीको जिल्लागत तथ्याङ्क हेर्ने हो भने सबैभन्दा धेरै सुर्खेतका रहेका छन्। तीन आर्थिक वर्षको अवधिमा सुर्खेतबाट ९९२ वटा उजुरी पर्दा ६१० वटा फस्र्याेट भएका छन्। सबैभन्दा कम उजुरी रुकुमपूर्वबाट २२ वटा पर्दा १६ उजुरी फस्र्योट भइसकेका छन्। 

दैलेखबाट ७७७ उजुरी परेकामा ४३३ फस्र्योट भएका छन्। मुगुबाट ४९१ उजुरीमा २६६, कालीकोटबाट ४७८ मध्ये २४० र जाजरकोटबाट परेका ४३८ उजुरीमध्ये २३४ वटा फस्र्योट छन्। ४३२ वटा उजुरी परेको हुम्लामा २३२, जुम्लाबाट ३३४ मध्ये १७९, सल्यानबाट ३०७ मध्ये २०४, रुकुमपश्चिमबाट २७१ मध्ये १३३ र डोल्पाबाट परेका १९२ उजुरीमध्ये ८७ वटा उजुरी फस्र्योट भएका छन्। कर्णालीमा पछिल्लो समय अख्तियारमा अनियमितताका उजुरी मात्रै होइनन्, अख्तियारबाट विशेष अदालतमा दायर भ्रष्टाचार कसुरका मुद्दाको सङ्ख्या पनि बढ्न थालेको छ।