• २० असोज २०८१, आइतबार

आँखा पाक्ने प्रकोप बढ्दै

blog

कोशी प्रदेश ब्युरो

विराटनगर, साउन २४ गते । कोशी प्रदेशका हिमाली, पहाडी तथा तराई क्षेत्रका अधिकांश स्थानमा पछिल्लो केही दिनदेखि सर्वसाधारणमा आँखा पाक्ने रोग फैलिरहेको छ । दुई सातादेखि कोशी प्रदेशका अधिकांश समुदायमा भाइरल प्रकोपकै रूपमा आँखा पाक्ने समस्या बढ्दै गएको हो । 

सर्वसाधारणदेखि विद्यार्थीसमेतमा सरुवा रोगका रूपमा रहेको आँखा पाक्ने समस्या बढ्दै गएपछि केही स्थानका शैक्षिक संस्था बन्द गरिएका छन् भने अधिकांश शैक्षिक संस्था प्रभावित भएको छ । त्यसै गरी पूर्वी नेपालका व्यापारिक क्षेत्रको चहलपहलमा समेत यो समस्याका कारण प्रभाव परेको छ । 

हाम्रा दमक समाचारदाताका अनुसार बालबालिकामा आँखा पाक्ने रोगको प्रकोप देखिन थालेपछि दमक नगरपालिकाले अवस्था हेरेर विद्यालय बन्द गर्न निर्देशनसहितको परिपत्र गरेको छ । बालबालिकामा आँखा पाक्ने रोगको प्रकोप बढेको जनाउँदै स्थानीय व्यवस्थापन समितिको निर्णय अनुसार विद्यालय बन्द गर्ने परिपत्र जारी गरेको हो ।

आँखा पाक्ने रोगबाट सङ्क्रमित बालबालिकाबाट अन्य बालबालिकामा चाँडो सार्ने भएकाले सङ्क्रमण भएका बालबालिकालाई घरमा नै राख्ने व्यवस्था मिलाउन र यो रोग फैलिन सुरु भएको भए विद्यालय बन्द गर्न स्थानीय व्यवस्थापन समितिलाई अधिकार दिइने निर्णय नगर शिक्षा समितिले गरेको शिक्षा अधिकृत प्रवीण खड्काले बताउनुभयो । 

बिर्ताज्योति अस्पतालमा मात्र दैनिक १५० जना आँखा पाक्ने रोगका बिरामी आउने गरेको जनाइएको छ । यसमा बालबालिका पनि रहेको अस्पतालका नेत्र अधिकृत मोती बरालले बताउनुभयो । अहिले प्रकोपका रूपमा नै देखापरेको छ, उहाँले भन्नुभयो ।

सरकारी दमक अस्पतालसहित यहाँका अन्य अस्पतालमा समेत अहिले आँखा पाक्ने बिरामीको भिड बढ्न थालेको छ । झापामा यसअघि बिर्तामोड नगरपालिका र भद्रपुर नगरपालिकामा आँखा पाक्ने रोगको प्रकोप देखिएपछि केही दिनका लागि विद्यालयहरू बन्द गरिएका थिए ।

अधिकांश बिरामी आँखाकै ताप्लेजुङ समाचारदाताका अनुसार हिमाली जिल्लाका रूपमा रहेको ताप्लेजुङमा आँखा पाक्ने रोग (भाइरल फ्लु) का बिरामी दिन प्रतिदिन बढ्दै गएका छन् । आँखामा समस्या भएर उपचारमा आउने धेरै बिरामीमा आँखा पाक्ने रोगको सङ्क्रमण देखिएको हो । 

जिल्लास्थित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रका अनुसार आँखाको समस्या लिएर परीक्षण तथा उपचारमा आएका बिरामीमध्ये करिब ३६ प्रतिशत बढीमा आँखा पाक्ने समस्या रहेको छ । पछिल्लो एक सातायता आएका बिरामीहरूमा आँखा पाक्ने रोगको सङ्क्रमण देखिएको उपचार केन्द्रका इन्चार्ज काजीमान गुरुङले जानकारी दिनुभयो । 

उहाँका अनुसार केन्द्रमा हाल दैनिक ४०/४५ जनाको सङ्ख्यामा आँखाका समस्या भएर परीक्षण तथा उपचार सेवा लिन आउने गरेका छन् । हरेक दिन उपचारमा आएकामध्ये १२/१३ सम्म बिरामी आँखा पाक्ने रोगबाट प्रभावित भएका आउने गरेको उहाँको भनाइ छ । उपचार सेवा लिन आएका बिरामीमा भाइरल फ्लु देखिएको सङ्ख्याका अनुपातमा आँखा पाक्ने रोगको समस्या बढ्दै गएको केन्द्रले जनाएको छ ।

यता केन्द्रका इन्चार्ज गुरुङले औषधोपचारसँगै आँखा पाक्ने समस्या देखिएका बिरामीलाई सफा पानीले पटक पटक आँखा सफा गर्न, आँखा अत्यधिक पोलेको अवस्थामा चिसो बरफ वा आइसले सेक्न, प्रशस्त मात्रामा पानी पिउन सल्लाह दिँदै आउनुभएको छ । त्यस्तै आँखा छुनुअघि राम्रोसँग साबुन–पानीले हात धुन, कालो चश्माको प्रयोग गर्न, सङ्क्रमितले प्रयोग गरेका सामग्री अरूले प्रयोग नगर्न पनि उहाँको सुझाव छ । 

ओखलढुङ्गामा पनि सङ्क्रमण

ओखलढुङ्गा समाचारदाताका अनुसार ओखलढुङ्गामा आँखा पाक्ने रोगका बिरामीको सङ्ख्या बढेको छ । देशका विभिन्न ठाउँमा प्रकोपका रूपमा फैलिएको आँखा पाक्ने रोग जिल्लामा पनि फैलिएको छ । 

आँखा पाक्ने तथा आँखा रातो हुने बिरामीको सङ्ख्या बढ्दा केन्द्रमा आँखा रोगीको चाप बढेको जिल्ला सामुदायिक आँखा केन्द्रकी इन्चार्ज टीका राईले बताउनुभयो । दैनिक छ/सात जनाको हाराहारीमा आँखा पाक्ने रोगसम्बन्धी समस्या भएका बिरामी केन्द्रमा आउने गरेको उहाँको भनाइ छ ।

यस रोगका कारण सुरुका दिनमा बिरामीको आँखा रातो हुने, चिलाउने, आँसु बग्ने र घाममा हेर्न नमिल्ने जस्ता लक्षण देखिने गर्दछ । सरुवा रोग भएकाले सजिलै एकअर्कामा सर्न सक्ने हुँदा विशेष सतर्कता अपनाउन केन्द्रकी प्रमुख राईले सुझाव दिनुभयो । वर्षाको समयमा सव्रिmय हुने एडिनो भाइरस हावामा लामो समय सम्म बाँच्ने भएकाले आँखा पाक्ने रोगको सङ्क्रमण बढी हुने सम्भावना हुन्छ । आँखा रातो हुने, चिलाउने वा चिपचिप गर्ने बित्तिकै आफूखुसी औषधी किनेर लगाउँदा आँखामा जटिल समस्या आउने भएकाले स्वास्थ्यकर्मीको सुझाव बिना औषधी प्रयोग नगर्न राईले सुझाव दिनुभयो । आँखा जँचाएर मात्र औषधीको प्रयोग गर्न जिल्ला सामुदायिक आँखा केन्द्रले आग्रह गरेको छ ।