• ६ जेठ २०८१, आइतबार

‘पालिका प्रमुख भएको अनुभूति नै छैन’

blog

स्थानीय तहको निर्वाचनमा तुर्माखाँद गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले) अछामका उपसचिव ३५ वर्षीय डम्बरबहादुर बिसी निर्वाचित हुनुभयो। युवा उमेर, त्यस्तै जोसजाँगर भएका युवा नेता बिसीले उच्च शिक्षा (स्नातकोत्तर तह) सम्मको अध्ययन गर्नुभएको छ। विद्यार्थीकालदेखि राजनीतिक यात्रा शुभारम्भ गर्नुभएका बिसी एमाले समर्थक अनेरास्ववियुको स्थायी कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेश सहइन्चार्ज हुँदै पहिलो प्रयासमै पालिकाको अध्यक्षमा निर्वाचित हुनुभएको हो ।  आठ वटा वडामा करिब २५ हजार जनसङ्ख्या भएको तुर्माखाँद गाउँपालिका जिल्ला सदरमुकामदेखि ५५ किलोमिटर पूर्वमा रहेको छ । यो पालिका कृषि उत्पादन तथा आर्थिक आयआर्जनका सम्भावना बोकेको पालिका हो । उहाँ पालिका अध्यक्षमा निर्वाचित भइसकेपछि यो एक वर्ष अवधिमा गर्नुभएका कामकारबाही, विकास निर्माण र चुनौतीका विषयमा कमलबजार समाचारदाता रमेशबहादुर रावतले गर्नुभएको कुराकानी : 


तपाईं विद्यार्थी राजनीतिबाट आउनुभयो, सङ्गठनको राजनीति र सरकार प्रमुख भएर काम गर्दा के फरक पाउनुभयो ? 

भन्ने र गर्ने कुरामा फरक हुँदो रहेछ। जिम्मेवारी फरक र भूमिका पनि फरक भएकाले फरक त लाग्ने नै भयो। पहिले सङ्गठनको राजनीति गर्दा एउटा विचारको कुरा हुन्थ्यो, एउटा नेतृत्वको कुरा हुन्थ्यो भने यता सबैको भावना, सबैको अपेक्षा भएको क्षेत्र भएकाले सङ्गठनको काम गर्नभन्दा सरकारको प्रमुख जिम्मेवारीमा रहेर काम गर्न सजिलो नहुने रहेछ। निर्वाचन पहिले यो गरौँला, त्यो गरौँला भन्ने लाग्थ्यो। सोचे अनुसार काम गर्न सकिएको छैन। पार्टीका कार्यकर्ताको र अन्य दलका समर्थक व्यक्तिहरूको फरक फरक अपेक्षा हुने हुँदा सबैको अपेक्षा अनुसार काम गर्न नसकिने रहेछ। त्यसो हुँदा केही असन्तुष्टिहरू त देखिने नै भए। 


अध्यक्षमा निर्वाचित भएको पहिलो वर्षमा के के काम गर्नुभयो ? 

यो एक वर्षको कार्यकाल सन्तोषजनक रहेन। हामीले केही नयाँ सिस्टमबाट पालिकाका कामकाजलाई लैजाने सोचेमा थियौँ। कर्मचारी, जनप्रतिनिधि र अन्य केही प्राविधिक कारणले पहिलो वर्ष त्यति राम्रो हुन नसकेको अनुभूति छ। खास गरेर वडाहरूमा जनशक्ति व्यवस्थापन गर्ने, कर्मचारी, प्राविधिकहरूलाई वडामै खटाउने काम सुरु गरेका छौँ। दुई वटा एम्बुलेन्स खरिद गरेर सञ्चालनमा ल्याएका छौँ। विद्यालय मर्ज तथा डाउनसाइज गरेका छौँ। शिक्षकको दरबन्दी मिलान र व्यवस्थापन भएको छ। तुर्माखाँद स्वास्थ्य चौकीमा भिडियो एक्सरेसहितको सेवा सञ्चालन भएको छ। 

तुर्माखाँद पालिकाले मुख्य गरेर कुन क्षेत्रलाई प्राथमिकता दिएको छ ? 

अन्य जुनसुकै कुराको विकास भए पनि मान्छेको चेतनामा विकास हुन सकेन भने कुनै पनि विकासले खासै अर्थ राख्दैन भन्ने हाम्रो बुझाइ हो। त्यस कारण हामीले पहिलो प्राथमिकता शिक्षा नै हो भनेर काम गरिरहेका छौँ। सामुदायिक विद्यालयहरूको गुणस्तर त्यति राम्रो छैन। शिक्षाको गुणस्तर माथि उठाउने हो भने हाम्रा बालबालिकालाई बजारमा काम पाउन सक्ने जनशक्तिका रूपमा उत्पादन हुने छन् भनेर विद्यालय सुधार नै पहिलो प्राथमिकतामा राखेका हौँ।  

दोस्रोमा स्वास्थ्य चौकीले प्रवाह गर्ने स्वास्थ्योपचार सेवाको गुणस्तर परिवर्तनमा हाम्रो जोड छ। कृषि उत्पादनका लागि पनि उर्वर भूमि भएकाले कृषिमा आधुनिकीकरण,  बेमौसमी उत्पादन, रैथाने बालीको संरक्षण, फलफूल खेती प्रवर्धन गर्न बजेटको व्यवस्थापन गरेका छौँ। आवश्यकता धेरै भए पनि यहाँको अहिलेको मुख्य आवश्यकता र प्राथमिकता शिक्षा, स्वास्थ्य र कृषि नै हुन्। 


शिक्षामा सुधारको काम भइरहेको छ भन्नुभयो तर यस वर्षको एसइई नतिजा त फरक देखियो नि ? 

हो, यस वर्षको एसइई नतिजा सन्तोषजनक भएन। गएको वर्षदेखि शिक्षा क्षेत्रको सुधारका लागि गरेको कामको नतिजा यस वर्षको नतिजाले मात्र मूल्याङ्कन गर्न सकिँदैन। यसको मूल्याङ्कनका लागि आउँदो वर्षको नतिजा हेर्नुपर्ने हुन्छ। 

सडक, विद्युत् र खानेपानीको कामलाई कसरी अगाडि बढाउनुभएको छ ? 

हाम्रो पालिका अछामकै विकट क्षेत्रमा पर्छ। भौगोलिक विकटताका कारणले एउटा वडालाई सडक सञ्जालसँग जोड्न सकिरहेका छैनौँ। यस वर्ष रहफमा सडक पुगाउने गरेर काम भइरहेको छ। यससँगै जङ्गलघाटमा पक्की पुल निर्माणका लागि पनि हामीले आफ्नो क्षेत्रबाट काम गरिरहेका छौँ। सङ्घीय र प्रदेश सरकारको सहयोगमा पालिकाभित्रका सडकको स्तरोन्नति र डुङ्गेश्वरमा पक्की पुल निर्माणका लागि पहल गरिरहेका छौँ। पालिकाको केन्द्रसम्म विद्युत्को केन्द्रीय प्रसारण लाइन जोडिएको छ। आउने दसैँतिहारभित्र ७ नम्बर वडा र ८ नम्बर (तोसी र धमाली) वडामा बत्ती बल्ने छ ।


समग्रमा सङ्घीय र प्रदेश सरकारसँगको समन्वय र सहकार्य कस्तो छ ?

हामीले त समन्वय गरिरहेकै छौँ। सङ्घीय र प्रदेश सरकारले स्थानीय सरकारलाई सरकार नै होइन भन्ने बुझाइ राख्दा रहेछन्। मलाई लाग्छ सङ्घीय सरकारले नीति निर्माण गर्ने हो। प्रदेशले समन्वय र कार्यान्वयनको काम स्थानीय सरकारले गर्नुपर्ने हो। कानुन अनुसार स्थानीय तह स्वायत्त भनिए पनि सङ्घीय र प्रदेश सरकारका मन्त्री, माननीयहरूको कार्यसम्पादन हेर्दा स्थानीय सरकार जनतासँग जोडिएको सरकार हो भन्ने बुझाइ नदेखिएकाले समस्या भइरहेको छ। 


तपाईंको कार्यकाल अवधिभर तुर्माखाँदमा के–के काम हुने छन् ?

सामुदायिक विद्यालयको गुणस्तर अहिलेको भन्दा धेरैमाथि हुने छ। हामी त्यसैको सुधारमा लागिपरेका छौँ। विद्यालय भवन र शिक्षक व्यवस्थापन हुनेछ। तुर्माखाँदमा बहुमुखी क्याम्पस निर्माण हुनेछ। एमबिबिएस डाक्टरले उपचार गर्ने वातावरण तयार हुँदै छ। स्वास्थ्य संस्थाहरूले प्रदान गर्ने 

सेवाहरूको गुणस्तर राम्रो हुनेछ। भौतिक पूर्वाधारतर्फ पनि सडकको स्तरोन्नति, प्रशासनिक भवन निर्माण, स्वरोजगारलगायतका काम हुने छन्। 


यो एक वर्षको अवधिमा के कस्ता चुनौतीको सामना गर्नुभयो ? 

पहिलो चुनौती त मैले आफैँलाई सरकार प्रमुख भएको अनुभूति गर्न सकेको छैन। आमनागरिकले यो स्थानीय सरकार हो भनेर कसरी भन्न सक्छन् र ? स्थानीय  सरकारको तर्फबाट गर्नुपर्ने काम सुरु गर्न सकिरहेका छैन। केही नयाँ कामहरू आफ्नो भिजनले सुरु गर्न खोज्दा विभिन्न क्षेत्रबाट अप्ठ्यारो पार्ने काम हुन थाल्छन्। त्यही भएर म आफैँलाई सरकारको प्रमुख भएको अनुभूति छैन। 

कानुनतः स्थानीय तहमा सत्ता पक्ष र प्रतिपक्षको परिकल्पना नगरे पनि त्यसको प्रभाव भने पर्ने रहेछ। राजनीतिक दलको नेता कार्यकर्ता, उपभोक्ता समिति, जनप्रतिनिधि र कर्मचारीमा मिलेर राम्रो काम गरौँ भन्नुभन्दा सबै मिलेर बाँडीचुँडी लिउ भन्ने चिन्तन देखिन्छ। मेरा लागि मुख्य चुनौती नै यही हो। जिम्मेवार व्यक्तिले व्यक्तिगत लाभ खोज्नु नै मेरा लागि चुनौती हो। केही नयाँ गरौँभन्दा बहुमत पक्षलाई मनाउन निकै सकस हुने रहेछ।