• ५ असोज २०८१, शनिबार

सामाजिक सञ्जालको दुरुपयोग रोक्न पहल

blog

कार्यक्रममा आफ्नो धारणा राख्नुहुँदै प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत । तस्बिर सौजन्य: प्रेस काउन्सिल नेपाल

भक्तपुर, साउन २४ गते । पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग बढ्दो रहेको छ । सञ्जालहरू सही प्रयोगभन्दा पनि गलत प्रयोग बढी हुने गरेकाले यसको रोकथाममा सबैले पहल थाल्नु पर्ने सरोकारवालाहरूले बताएका छन् । 

प्रेस काउन्सिल नेपालले सोमबार र मङ्गलवार आयोजना गरेको सम्पादक संवाद कार्यक्रममा ''सामाजिक सञ्जाल र पत्रकारिताका नयाँ आयामहरूबारे छलफल''मा सहभागीले सञ्जाल दुरुपयोग रोक्नका लागि जनस्तरबाटै सचेतना बढाउनुपर्ने धारणा राखेका हुन् ।

कार्यक्रममा मिडियामा सामाजिक सञ्जालको भूमिका, व्यवस्थापन र प्रभावबारे कार्यपत्र  प्रस्तुत गरिएको थियो । साइबर सुरक्षा विज्ञ राजीव सुब्बाले सामाजिक सञ्जालको व्यवस्थित प्रयोग र नियमनका विषयमा राष्ट्रिय र अन्तर्राष्ट्रिय अभ्यासबारे सहभागीहरूलाई जानकारी गराउनु भयाे ।

काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले सामाजिक सञ्जालको रचनात्मक प्रयोग बढाउन आवश्यक रहेको बताउनुभयो । पत्रकारिता र सामाजिक सञ्जालको प्रयोगलाई जोडेर काउन्सिलले सचेतनामूलक कार्य गर्न र स्वनियमनको लागि काम सुरु गरेको अध्यक्ष बस्नेतले जानकारी दिनुभयो । 

सूचना तथा प्रसारण विभागका महानिर्देशक शङ्कर नेपालले दर्ता नभएका सञ्चारमाध्यम र सामाजिक सञ्जाललाई कार्यविधि बनाएर भए पनि तत्कालको समस्या सम्बोधनका लागि गृहकार्य गरिरहेको बताउनुभयो । यो कार्यसँगै सञ्जालहरूको दुरुपयोगमा कमी आउने विश्वास उहाँले गर्नुभयो ।