बाबुराम कार्की
वराहक्षेत्र, साउन २४ गते । वैदेशिक रोजगारीमा गएर फर्किएका अधिकांश युवाले घडेरी किन्ने घर बनाउनेजस्ता क्षेत्रमा लगानी गर्छन् । आजकल यो वैदेशिक रोजगारीबाट फर्केका युवामा फेसन जस्तै बनेको छ तर वराहक्षेत्र नगरपालिका–९, ढोलबजियाका तीन युवकले पुख्र्याैली पेसामा नै लगानी गरेका छन् ।
पाँच वर्ष दक्षिण कोरियामा रोजगारी गरेर घर फर्किएका दुई युवक र अफगानिस्तानमा काम गरेर फर्किएका एक युवक मिलेर आफ्नै गाउँ ढोलबजियामा सुन्दर कृषि फार्म खोलेर छ वर्षदेखि व्यावसायिक तरकारी खेती गर्दै आएका छन् । २०७४ सालबाट वराहक्षेत्र नगरपालिका–९ मा एक बिघा जग्गा लिजमा लिएर तरकारी खेती सुरु गरेका उनीहरूले अहिले ११ बिघामा तरकारी खेती गरिरहेका छन् ।
“तरकारी खेतीबाटै वार्षिक २५ देखि ३० लाख रुपियाँसम्म आम्दानी गर्दै आएका छौँ । सुरुवाती समयमा सामूहिक पैसा उठाएर छ लाख लगानीबाट टनेल, ग्रिनेट, मल्चिङ प्रविधि प्रयोग गरेर बेमौसमी तरकारी खेती सुरु गरेका हौँ,” छविलाल चौधरीले भन्नुभयो । अहिले टमाटर, रायो साग, बोडी, काँक्रो, खुर्सानी, बैगुन, काउलीजस्ता सागसब्जीबाट राम्रो आम्दानी लिँदै आएको उहाँले उल्लेख गर्नुभयो ।
सुन्दर कृषि फार्ममा उत्पादन भएको तरकारी व्यापारीले होलसेल दरमा लैजाने गरेका छन् । बेमौसममा प्रायः सबै तरकारी ७० रुपियाँ प्रतिकेजी होलसेलमा व्यापारीले लैजाने गरेको उहाँले बताउनुभयो । वराहक्षेत्र नगरपालिका क्षेत्रमै पहिलो पटक उन्नत कृषि प्रविधि प्रयोग गरेर तरकारी खेती सुरु गरेका युवा १२ घण्टा काम गरिरहेका छन् । “सुरुमा टनेल बनाउँदा घर बनाएर पनि तरकारी खेती हुन्छ ? धेरैले सोध्थे । अहिले प्रविधि देखेर सबै जना खेती गर्नुपर्ने रहेछ भन्छन्,” समूहका एक सदस्य अमिर निरौलाले भन्नुभयो, “हामीले उत्पादन गरेका तरकारी स्थानीय बजार प्रकाशपुर, राजावास, इनरुवा, चक्रघट्टी, चतरा र बक्लौरी लगेर बेच्ने गरेका छौँ ।”
“तीनै जना दैनिक १२ घण्टासम्म काम गर्ने गरेका छौँ । अर्काको भूमिमा १८ घण्टासम्म काम गर्दा हुने आफ्नो देशमा काम गर्दा लाज हुने परम्पराको अन्त्य गर्न लागिपरेका छौँ,” रघुवीर चन्द्रवंशीले भन्नुभयो । स्थानीय जोनी लिम्बूले कोरियामा महिनाको तीनदेखि पाँच लाख रुपियाँसम्म कमाउँदै आएका युवाले आफ्नै देशमा आएर तरकारी खेती गरेको देख्दा ढोलबजिया टोलमै खुसी छाएको बताउनुभयो ।
३४ वर्षका रघुवीर चन्द्रवंशी, ३३ वर्षका अमिर निरौला र ४८ वर्षका छविलाल चौधरी वडा नं. ९ का स्थायी बासिन्दा हुन् । रघुवीरले शिक्षामा स्नातक, अमिरले वाणिज्य शास्त्रमा स्नातक गर्नुभएको छ भने छविलाल एसएलसी उत्तीर्ण हुनुहुन्छ ।
“पहिला पाँच बिघामा खेती गरेका थियौँ । यो वर्षबाट थप चार बिघा लिजमा लिएर ११ बिघामा खेती गर्दै छौँ । प्रतिकट्ठा १५ सयदेखि तीन हजारसम्म दिएर जग्गा लिजमा लिएका छौँ,” अमिरले बताउनुभयो । कृषिमा काम गर्नेभन्दा मान्छे मुख खुम्च्याउँछन् । कृषि पेसालाई तल्लोस्तरको पेसाका रूपमा हेर्ने गरेको बताउँदै उहाँले दक्षताको आधारमा १८ जना कृषि कामदारलाई मासिक तलब दिएर राखेको बताउनुभयो । कामदारको दक्षतालाई हेरेर मासिक १२ हजारदेखि १८ हजारसम्म तलब दिने गरेको बताउँदै उहाँले भन्नुभयो, “मल्चिङ, टनेल, थाङ्ग्रो प्रविधिको प्रयोग गरेर खेती गर्दै आएका छौँ ।”
बाह्रै महिना तरकारी खेती गर्दै आउनुभएका उहाँहरूले यो वर्षायाममा पनि पाँच बिघामा तरकारी लगाउनुभएको छ । चार वर्ष १० महिना कोरिया बसेका युवा भन्नुहुन्छ, “हामी नेपाली काम नगरेर गरिब भएका हौँ । हामी हाम्रो देशलाई कृषिप्रधान देश भन्छौँ तर तरकारीमा केही गरेर देखाउँछौँ भन्दा पनि सरकारीस्तरबाट भनेजस्तो सहयोग पाएका छैनौँ ।”
“कृषिका हरेक सामानमा कर छ । कृषिमा छुट छ भन्ने कुरा व्यवहारमा लागु छैन । कृषकलाई चाहिने प्लास्टिकदेखि हरेक कृषिका सामानमा कर छ कसरी काम गर्नु ?” कृषक रघुवीरले गुनासो गर्नुभयो । नेपालमा सहज रूपमा जिएसएम प्लास्टिक टनेल, ग्रिनेट, मल्चिङ नपाउने हुँदा भारतबाट ल्याउँदा राज्यले भन्सारमा दिने भनेको छुट पनि आफूहरूले नपाएको बरु उल्टै कर तिर्नु परेको उहाँहरूको भनाइ छ । प्रविधिको प्रयोगले छिटो र धेरै खेती गर्न सकिन्छ । उहाँहरूले ड्याङ बनाउने तीन वटा बेड मेकर, दुई वटा पावर ट्रेलर, तीन वटा मिनी ट्रेलर, तरकारी बोक्ने इलोडर दुई वटा र एचटिपी स्पियर (दबाई छर्ने) मेसिन दुई वटाले काम गर्दै आएको बताउनुभयो ।
कृषक अमिरले भन्नुभयो, “सरकारले कृषिमा अनुदान दिँदै आए पनि त्यो प्रभावकारी छैन । उत्पादनमा आधारित भएर अनुदान दिए मात्रै वास्तविक कृषकले पाउने थिए । राज्यले लगानी गरेको पनि सदुपयोग हुने थियो ।” सुरुवाती समयमा गुगलमा सर्च गरेर खोज्दै खेती गर्दै आएका उहाँहरू अहिले वराहक्षेत्र नगरकै अगुवा कृषकले चिनिनुहुन्छ ।