• २० वैशाख २०८१, बिहिबार

खोला मिचेका बस्तीमा बाढी

blog

अविरल वर्षाका कारण हनुमानघाट भक्तपुरमा आएको बाढी छिचोल्दै मङ्गलबार शव बोकेर घाटतर्फ जाँदै गरेका मलामी । तस्बिर : विकास द्वारे

काठमाडौँ, साउन २४ गते । काठमाडौँ, ललितपुर र भक्तपुरका अधिकांश खोला किनारका बस्ती डुबानमा परेका छन्। बागमती, विष्णुमती, रुद्रमती (धोबीखोला), मनहरा र टुकुचा (इक्षुमती) सहितका नदी किनार अतिक्रमण गरी निर्माण गरिएका भौतिक संरचनाका कारण डुबानमा परेका हुन्। 

त्यसै गरी ललितपुरको कर्मनासासहित अन्य साना खोला तथा खहरेमा पनि बाढी आएको छ। भक्तपुरका हनुमन्तेसहित अन्य खोलामा जलाधार बढ्दा कैयौँ स्थान डुबानमा परेका छन्। काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी खडगबहादुर श्रेष्ठले खोला किनारका बस्ती डुबानमा परेको बताउनुभयो। 

विशेषगरी काठमाडौँका सामाखुसी, बुढानीलकण्ठ नगरपालिकाको कपन, काठमाडौँ महानगरको सरस्वतीनगरदेखि अनामनगरसम्मै बाढी बस्तीमा बसेको छ। बुढानीलकण्ठ नगरपालिका प्रमुख मिठाराम अधिकारीले नगरका १०, ११ र १२ वडामा यज्ञमती र चखुँचाखोलाको बाढी पसेको बताउनुभयो। उहाँले भन्नुभयो, “खोलाछेउका बस्ती डुबानमा परेका छन्। यो पुरानै समस्या हो। सामान्य क्षति भएको छ। कतै राहत दिनुपर्ने स्थिति आए हामी तयार छौँ।” पूर्वमन्त्री एवं जलस्रोतविज्ञ दीपक ज्ञवालीले संस्थागत र संरचनागत अराजकता नहटेसम्म काठमाडौँ उपत्यकामा बाढीको समस्या समाधान नहुने बताउनुभयो। उहाँले भन्नुभयो, “कपनमै पनि यज्ञमती र चखुँचाखोला पुर्न पाँच वटा निकाय सिँचाइ विभाग, सडक विभाग, काठमाडौँ उपत्यका विकास प्राधिकरण, नगरपालिका, महानगरले अलग अलग तरिकाले काम गरिरहेका छन्। काममा समन्वय छैन। नियत सबैको खोला पुर्नमै केन्द्रित छ।”

वर्षाका कारण बागमती नदी र बल्खु खोलामा पानीको सतह बढेर काठमाडौँ महानगरपालिका–१४, बल्खुस्थित काठमाडौँ र ललितपुर जोड्ने पुलमुनि साझा पेट्रोल पम्पनजिक पार्किङ गरेर राखिएका तीन वटा टाटा सुमो डुबाएको र क्रेनको सहायताले निकालिएको सहायक प्रमुख जिल्ला अधिकारी खडगबहादुर श्रेष्ठले बताउनुभयो। उहाँका अनुसार बागमती नदी किनारमा टहरा बनाई अस्थायी रूपमा बसोबास गर्दै आएको सुकुम्बासी बस्ती, बल्खु तरकारी बजार, बल्खु खोलाछेउमा रहेको अपार्टमेन्ट, व्यक्तिका घर, कलङ्की खसीबजारस्थित सुपरमार्केट, कीर्तिपुर नगरपालिका–२, मैत्रीनगरस्थित नापी कार्यालय पनि बाढीको चपेटामा परेका छन्। 

बुढानीलकण्ठ नगरपालिका–११, कपनस्थित पैयाटारमा यज्ञमती विद्यालयको पर्खाल पहिरोले भत्काएको बताउनुभयो। उहाँका अनुसार पर्खाल भत्किँदा स्थानीय गङ्गाबहादुर थापामगरको घरमा क्षति पुगेको छ।