मुरारी अधिकारी
धादिङ, वैशाख २० गते । गंगाजमुना गाउँपालिकाको २ र ३ को सिमानामा ताप्राङ खोलामा रहेको निकै कहाली लाग्दो तम्बा भिर । भिरको बिचमा निकै सुन्दर देखिने माहुरीका २९ वटा चाका । दुई दिनदेखिको तयारीपछि भिरमा टाँगिएका डोरीको भर्याङ । मौरीको गोला रहेको मुन्तिर हरियो स्याउला बालेर धूवाँ पुतपुताइन्छ । मौरीलाई वनमा डढेलो लागेको जस्तो देखाएर ध्यान भङ्ग गर्न र मान्छेलाई नटोकोस् भनेर त्यसो गरिन्छ । धूवाँ पुतपुताएपछि मौरीले गोला छोड्दै जान्छ ।
कोक्रो बाँधेको डोरी तान्ने, छोड्ने गर्छन् । उमानाथ गोलाको सोझै आइपुगेपछि तोस्रोले मह काढ्छन् । कोक्रोमा थाप्छन् । तल जयबहादुर क्षत्री र प्रेमबहादुर पौडेल क्षत्री कोक्रो कुरेर बस्छन् । चाका आएपछि हातैले निचोरेर मह जम्मा गर्छन् ।
मह काढ्दा प्रयोग हुने भाषा अलग्गै छ । कोक्रो बाँधेको डोरी बिस्तारै–बिस्तारै छोडिन्छ, गोलानेरै कोक्रो आएपछि चिच्याइन्छ जसमा खुसीको भाव देखिन्छ । चाका जम्मा गरेर कोक्रो छोडेपछि माथि बसेकाले डोरी छाड्दै तल पुर्याउँछन्। तल चाका जम्मा भएपछि हर्षोल्लासको वातावरण देखा पर्दछ । माथि बसेकाले डोरी तान्छन् । डोरीमा झुन्डिएर महको सिकार गर्नेका लागि खाना र पानीको व्यवस्था डोरीको नै माध्यमबाट गरिन्छ ।
तम्बा भिर माहुरीको बासले मात्र होइन सँगै रहेको झरनाको दृश्यले निकै मन लोभ्याउँछ । भिरमा मानिस झुण्डिर मह सङ्कलन गरेको दृश्यलाई कलकलाउँदै बहेको पानी र माथिबाट झरेको झरना निके मनमोहक देखिन्छ । साहसिक पर्यटनको अत्यधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२ तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’ गरिएको छ । ‘गङ्गाजमुना तीनसुरे पदमार्ग’को अनुसन्धान तथा प्रवर्द्धनको अन्वेषणका लागि पुगेको ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान), गंगाजमुना गाउँपालिकाको संयुक्त टोलीको उपस्थितिमा तेम्बा भिरमा ‘हनी हन्टिङ’ गरिएको हो ।
उक्त महfभिर गङ्गाजमुना–२ र ३ को सिमाना ताप्राङ खोलामा पर्दछ । गङ्गाजमुना–३ का वडाध्यक्ष राजकुमार गुरुङले वडाभित्रका पर्यटकीय क्षेत्रको खोज गरी संरक्षणमा वडा लागेको बताउनुभयो । बुधबारदेखि सुरु भएको भिरमौरी मह निकाल्न चार दिन लाग्ने छ । भिरमौरीको मह निकाल्नका लागि री गाउँका चन्द्रबहादुर तामाङ, कुर्मु तामाङ, दुर्गा तामाङ सुरक्षा सामग्री सहित भिरमा टाँगिएको डोरी बसेर आगो लगाउने, चाका काट्ने लगायतका काम गरिरहेका देखिन्छ । भिर मौरीको मह वर्षमा दुईपल्ट काढिन्छ । जेठमा काढ्ने मह विषाक्तसमेत हुनसक्छ । उक्त महले कसै–कसैलाई नसहने र बिरामी नै बनाउने किसिमको हुन्छ । रातो गुराँसमा पाइने रसबाट बन्ने महले मात लाग्छ । मङ्सिरमा काढ्ने मह भने पोसिलो हुन्छ । भिर मौरीको महलाई स्थानीयवासीले औषधिका रूपमा प्रयोग गर्दै आएका कुर्मु तामाङ बताउनुहुन्छ ।
तामाङ भाषामा ‘ह्यारा’को अर्थ भिरमौरी भन्ने बुझिन्छ । गङ्गाजमुना–२ का वडाध्यक्ष बलबहादुर तामाङले तेम्बा भिरमा पुर्खाहरूको पालादेखि मह झिक्ने चलन भएको र हालसम्म त्यसले निरन्तरता पाएको बताउनुहुन्छ । मह झिक्नका लागि नजिकै रहेको लताप, धुसेनी र तावलका स्थानीय बासिन्दाको मात्रै सहभागिता रहने गरेको छ । मह झिक्न भिरमा प्रयोग हुने डोरीको भर्याङ लगायतको सामग्री खरिद गर्न हाल ‘री’ गाउँका ६ युवाले दुई लाख लगानी गरेर गरेको र उत्पादन भएको मह एक हजार पाँच सयदेखि दुई हजारसम्ममा बिक्री वितरण गरिँदै आएको वडाध्यक्ष तामाङले बताउनुभयो ।
भिरमौरीको महलाई आगामी दिनमा संरक्षण समिति बनाएर उत्पादन गरिने अध्यक्ष तामाङको भनाइ छ । उक्त महभिरमा विगत दुई सय वर्षदेखि भिरमौरीको मह निकालिँदै आएको स्थानीय वृद्ध आइतराम तामाङ बताउनुहुन्छ ।
गंगाजमुनाका प्रमुख प्रशासकीय अधिकृत अनिल श्रेष्ठले विगत लामो समयदेखि भिरमौरीको मह उत्पादन हुँदै आएको तेम्बा भिरमा मह उत्पादनका लागि आवश्यक सामग्री गाउँपालिकाले व्यवस्थापन गरेर पर्यटन प्रवर्द्धनमा सहयोग गर्दै आएको बताउनुभयो । श्रेष्ठका अनुसार यस क्षेत्र साहसिक पर्यटनको अत्यधिक सम्भावना भएको क्षेत्र भएकाले महबाहेक क्यानोनिङका समेत सम्भावना देखाएकाले गाउँपालिकाले यसको सम्भाव्यता अध्ययन गरेर अगाडि बढ्ने जानकारी दिनुभयो ।
भिरमा रहेको महलाई बेचेर मात्र होइन उक्त स्थानलाई अवलोकनस्थल बनाएर पर्यटन भित्र्याउने योजना गाउँपालिकाले राखेको छ ।