• २० असोज २०८१, आइतबार

गाउँमै महँगियो गोलभेँडा

blog

कोकिला ढकाल

इलाम, साउन २४ गते । पछिल्लो साता इलामका गाउँहरूमै गोलभेँडाको मूल्य उच्च भएको छ । अघिल्लो सिजन अर्थात् चैत–वैशाखमा गाउँमा १० देखि १५ रुपियाँ प्रतिकिलोका दरले बिक्री भएको गोलभेँडा साउनको दोस्रो साता आइपुग्दा मूल्य बढेर ९० रुपियाँसम्म पुगेको छ । 

गोलभेँडाको बोटमै पुगेर व्यापारीले ९० रुपियाँ प्रतिकिलोका दरले गोलभेँडा खरिद गरिरहेका छन् । “यो वर्ष थोरै गोलभेँडा लगाइयो । गत वर्ष बिक्री हुन गाह्रो भएको थियो । त्यस्तै होला भनेर कम रोपियो । अहिले चाहिँ मजाले भाउ आयो,” मङ्गलबार गोलभेँडा बिक्रीकै लागि इलाम बजार आइपुग्नुभएका माईजोगमाई–५ का महेन्द्र चापागाईंले भन्नुभयो, “यहाँ आफैँ ल्याउँदा त प्रतिकिलो १२० का दरले बिक्री भयो । घरमा ९० रुपियाँले बेचिरहेका थियौँ ।” चापागाईंले यो वर्ष एक सय बोट मात्र गोलभेँडा रोपेको बताउनुभयो । “एक बोटले १० देखि १५ किलो उत्पादन दिँदो रहेछ । करिब २० मन गोलभेँडा उत्पादन भयो । अब करिब अन्तिम टिपाइ हुँदै छ,” चापागाईंले भन्नुभयो । गाउँबाट बजार ल्याइएको गोलभेँडा इलाम बजारका व्यापारीले भने प्रतिकिलो १५० देखि १८० रुपियाँका दरले समेत बिक्री गरिरहेको पाइएको छ । 

चापागाईंले जस्तै माईजोगमाईका अन्य किसानले पनि यो वर्ष गोलभेँडाबाट राम्रो आम्दानी गरिरहेका छन् । यता इलामको गोदक, पञ्चकन्या, बरबोटे, कोल्बुङलगायतका क्षेत्रबाट अहिले गोलभेँडा उत्पादन तथा निकासी भइरहेको छ । गोलभेँडाबाट राम्रो आम्दानी हुन थालेपछि कृषि ज्ञान केन्द्र इलामले पनि यो वर्ष किसानलाई टनेल खेतीका लागि अनुदानको कार्यक्रम गरिरहेको छ । यो वर्ष एक सय वटा टनेलमा गोलभेँडा खेती भइरहेको ज्ञान केन्द्रका प्रमुख टोनी बर्देवाले बताउनुभयो । 

केन्द्रले सङ्घीय सरकार र प्रदेश सरकारको सहयोगमा तीन तरिकाको कार्यक्रम गरिरहेको छ । मुख्य राजमार्गलक्षित कार्यक्रम अन्तर्गत तीन लाख रुपियाँको अनुदान सहयोगमा टनेलमा गोलभेँडा खेती भइरहेको जनाइएको छ । प्राङ्गारिक कृषि प्रवर्धनात्मक कार्यक्रम अन्तर्गत युवालक्षित एक लाख रुपियाँको टनेल संरचना निर्माण भएको छ । यस्तै पाँच लाख रुपियाँमा हरित शान्ति अभियान अन्तर्गत कार्यक्रम भइरहेको ज्ञान केन्द्र प्रमुख बर्देवाले बताउनुभयो । वर्षायाममा तराईमा पनि गोलभेँडाको उत्पादन नहुनु र भारतबाट पनि बढी माग आउनुले गोलभेँडाको मूल्य आकासिएको बताइएको छ । 

केन्द्रका अनुसार जिल्लाको २०३ हेक्टर जमिनमा गोलभेँडा खेती हुने गरेको छ ।