विष्णु पाण्डेय
काठमाडौँ,साउन २३ गते। गएरातिदेखि परेको अविरल वर्षाका कारण दुई जनाको मृत्यु भएको छ । छ जना बेपत्ता भएका छन् भने चार जना घाइते भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मकवानपुरमा पहिरोमा परी एक जना र धनुषामा बाढीले बगाएर एक जनाको मृत्यु भएको हो। पहिरोमा परी चार जना घाइते भएका छन्।
गएरातिदेखि परेको वर्षाका कारण उपत्यकासँगै तराईका अधिकांश क्षेत्र डुबानमा परेका छन्। प्राधिकरणका अनुसार कञ्चनपुर, बर्दिया, काठमाडौँ, सिन्धुली, काभ्रे धनुषा र रौतहटमा बाढी तथा पहिरोका घटना बढी भएका छन्। गएराति मधेश, लुम्बिनी र गण्डकी प्रदेशमा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। अन्य प्रदेशमा औसत वर्षा भएको तथ्याङ्क छ।
मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार यी प्रदेशमा भारी वर्षा मापन भएकाले क्षतिको विवरण पनि यही प्रदेशमा बढी भएको भएको देखाएको हो। महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरका अनुसार धनुषामा सबैभन्दा बढी वर्षा भएको मापन भएको छ। उहाँका अनुसार यस क्षेत्रमा २७२ मिलिमिटर वर्षा मापन भएको हो। यस वर्षको मनसुन सुरु भएयता अगस्ट महिनामा यो सबैभन्दा बढी वर्षा मापन भएको देखिएको छ।
काठमाडौँमा कम पानी पर्दा पनि बाढी
अन्य स्थानमा परेको वर्षाको तुलनामा काठमाडौं आसपासमा गएराति कम वर्षा भएको थियो। जल तथा मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरका अनुसार अन्य स्थानको तुलनामा काठमाडौं आसपासमा कम वर्षा भएको छ। सुन्दरीजल आसपास ९२ मिलिमिटर वर्षा मापन भएको छ भने बूढानीलकण्ठ आसपास ९८ मिलिमिटर मात्र वर्षा मापन भएको छ।
काठमाडौं, उपत्यका भएको र यहाँको बस्ती बाक्लो भएकाले पानी कम परे पनि चाँडै नै बाढी आउने सम्भावना हुने उहाँको भनाइ छ। उहाँले भन्नुभयो, “काठमाडौं उपत्यका भएको र बाक्लो बस्ती भएका कारण पानी फैलन नपाइ एकत्रित भएर बग्दा चाँडै बाढी आउँछ।” गएराति परेको वर्षाका कारण काठमाडौंका बागमती नदी आसपासका क्षेत्र डुबानामा परेका थिए।
राति र भोलि पनि वर्षाको सम्भावना
आज र भोलि पनि मधेश, गण्डकी र बागमती प्रदेशमा अति भारी वर्षाको सम्भावना छ भने अन्य प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ। मौसमविद् मानन्धरका अनुसार यी अति भारी वर्षा हुने प्रदेशका नदीहरुमा बाढी आउनसक्ने भएकाले सतर्क रहनुपर्नेछ। यस्तै यी प्रदेशका भिरालो स्थानमा पहिरो जाने जोखिम पनि रहेको उहाँको भनाइ छ।
तीन राजमार्ग अवरुद्ध
गएराति परेको वर्षाका कारण देशका तीन राजमार्ग पूर्णरुपमा अवरुद्ध छन्। सडक विभागका अनुसार चतरा–मुलाघाट–माझीटार–अमरापुरडाँडा–गणेशचोक(तमोर करीडोर), तानसेन–रिडी–कोरला र धनगढी–सहजपुर–बुडर–स्याउँले,सतबाँझ–थाकतोली–दार्चुला–टिङ्कर राजमार्ग अवरुद्ध छन्। यस्तै ३४ राजमार्ग एकतर्फी रूपमा सञ्चालन रहेका विभागले जनाएको छ।
विभागका प्रवक्ता रामहरि पोखरेलका अनुसार पूर्ण रूपमा अवरुद्ध भएका सडकलाई खुलाउने प्रयास भइरहेको छ।