• २० असोज २०८१, आइतबार

बिजुली बलेपछि दुर्गमका स्थानीय हर्षित

blog

ग्रामीण क्षेत्रमा विस्तार गरिएको राष्ट्रिय प्रसारण लाइनको ट्रान्समिटर। तस्बिर : चन्द्र पन्दाक।

चन्द्र पन्दाक

ताप्लेजुङ, साउन २३ गते। राष्ट्रिय प्रसारण लाइनको बिजुली बल्न पाएपछि ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–२ खेजेनिमका स्थानीय हर्षित भएका छन्। जिल्लाको एक दुर्गम गाउँको रूपमा रहेको खेजेनिममा गएको शनिबारदेखि राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेपछि स्थानीय हर्षित भएका हुन्।

दुर्गम गाउँमा राष्ट्रिय प्रसारण लाइनको बिजुली बाल्न पाइएला भनेर कल्पनासम्म नगरेको अवस्थामा बिजुली उपभोग गर्न पाउँदा खुसी लागेको स्थानीयले बताएका छन्। प्रायः अन्धकार झैँ अर्थात् आवश्यकताअनुसार पर्याप्त बिजुली उपभोग गर्न नपाएका खेजेनिमवासीले लामो समयपछि राष्ट्रिय प्रसारण लाइनको विद्युत् बाल्न पाएका हुन्। 

यसअघि गाउँले आफैँले रकम सङ्कलन गरेर निर्माण गरिएको मेथेमखोला लघु जलविद्युत आयोजनाबाट उत्पादित विद्युतले मुस्किलले बत्तीसम्म स्थानीयले बाल्दै आएका थिए। निकै पुरानो लघु जलविद्युत आयोजनामा भर पर्नुपर्दा हालसम्म स्थानीयले आवश्यकताअनुसार बिजुली बत्ती प्रयोग गर्न पाएका थिएनन्। लामो समयको प्रतीक्षापछि अब भने राष्ट्रिय प्रसारण लाइनको बिजुली बाल्न पाउँदा ढुक्क भएको पनि स्थानीय बताउँछन्। 

राष्ट्रिय प्रसारण लाइन पुगेसँगै बिजुली बत्ती बाल्न मात्र नभई अब अन्य काम गर्नमासमेत सहज हुने भएको स्थानीय पदम बुढाथोकीले बताउनुभयो। घरमा बत्ती बाल्नेदेखि साना, मझौला तथा ठुला उद्योगधन्दा, कलकारखाना सञ्चालनलगायत विद्युतको प्रयोग अनिवार्य हुने सबै कार्य गर्न पाइने भएको बुढाथोकीको भनाइ छ।  उहाँका अनुसार विद्युतको अभावमा कुनै पनि पेसा व्यवसाय सञ्चालन गर्ने सोच तथा  चाहना भएका स्थानीयका लागि ठुलो राहत मिलेको छ। 

त्यस्तै अर्का स्थानीय दिलकुमार पतङ्वाले पनि राष्ट्रिय प्रसारण लाइनको विद्युत पुगेसँगै खेजेनिमवासीमा खुसीयाली छाएको बताउनुभयो। पतङ्वा लिम्बूले घरमा बत्ती बाल्नेदेखि विद्युतको अधिकतम उपयोगमार्फत उत्पादनमूलक क्षेत्रमा प्रयोग गरेर आयआर्जनको माध्यम बनाउनलाई सहज हुने बताउनुभयो। साना तथा मझौला उद्योग र कलकारखाना सञ्चालन गरी रोजगार सिर्जना गर्नका लागि विद्युतको अधिकतम उपयोग गरेर फाइदा लिनुपर्ने स्थिति आएको पनि उहाँको भनाइ छ।

राष्ट्रिय प्रसारण लाइनको बिजुली बत्तीको पहुँच पुगेसँगै खेजेनिमका करिब ४५० घरपरिवार लाभान्वित बनेका छन्। त्यसैगरी त्यहाँ रहका सरकारी तथा गैरसरकारी निकायका कार्यालय सञ्चालनमा पनि विद्युतले सहज भएको बताइएको छ। स्वास्थ्य संस्था, विद्यालय लगायतमा पर्याप्त विद्युत् नहुँदा कम्प्युटर, इन्टरनेट र अन्य उपकरण सञ्चालनमा समस्या थियो।