• २१ वैशाख २०८१, शुक्रबार

सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ विक्री वितरण गर्न निषेध

blog

जिल्ला प्रशासन कार्यालय धनुषा । तस्बिर : विजयकुमार साह

विजयकुमार साह 

ढल्केबर, साउन २३ गते । जिल्ला प्रशासन कार्यालय धनुषाले सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थको विक्री वितरण र सेवन गर्न निषेध गरेको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले सूचना जारी गर्दै जिल्लाको कुनै पनि सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थको विक्री वितरण र सेवन गर्न निषेध गरेको हो ।

 कसैले सूचनाको अवज्ञा गरेमा सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन २०६८ को दफा ४ बमोजिम कारबाही गर्ने चेतावनी दिएको छ । सार्वजनिक स्थलदेखि एक सय मिटर वरपरका क्षेत्रमा धूमपान र सुर्तीजन्य पदार्थको विक्री वितरण र सेवन पूर्णरुपमा रोक लगाएको जिल्ला प्रशासन कार्यालयकाे सूचनामा उल्लेख छ ।   

सर्वसाधारण जनताको सुविधा, आर्थिक र स्वास्थ्य हितलाई ध्यानमा राख्दै सार्वजनिक स्थान आसपासका क्षेत्रमा चुरोट, बिँडी, सिगार, तमाखु, कक्कड, कच्चा सुर्ती, खैनी, गुट्खा, सुर्ती वा यस्तै प्रकारका अन्य पदार्थको नशा लिने वा सेवन गर्ने कार्यमा निषेध गरिएको जनाएको छ ।

जिल्लाभित्रका सरकारी निकाय, संस्था वा कार्यालय, जानकी मन्दिर, राम मन्दिर, सङ्कमोचन हनुमान मन्दिरलगायतका धार्मिक स्थलहरु, धर्मशाला, शिक्षण संस्था, स्वास्थ्यसम्बन्धी संस्था, विमानस्थल, सार्वजनिक सवारी साधान, बाल कल्याण गृह, शिशु स्याहार केन्द्र, वृद्धाश्रम, अनाथालय, बाल उद्यान तथा क्लब, सार्वजनिक शौचालय, रेल्वे स्टेशन, चलचित्र र, सांस्कृतिक केन्द्र तथा नाट्यशाला, छात्र÷छात्रावास तथा अतिथि गृह र सार्वजनिक सवारीका प्रतीक्षालयलगायतका कार्यस्थललाई सार्वजनिक स्थल मानिएको छ ।