राधाकृष्ण डुम्रे
वालिङ, साउन २३ गते । स्याङ्जामा आँखा पाक्ने रोगको सङ्क्रमण बढ्दै गएको छ । जिल्ला आँखा उपचार केन्द्र वालिङमा आँखा पाक्ने समस्या लिएर आउने बिरामी बढ्दै गएको केन्द्रले जनाएको छ ।
जिल्ला आँखा उपचार केन्द्र वालिङका प्रमुख तेज गुरुङले आँखाको पाक्ने समस्या लिएर दैनिक ३० देखि ३५ जना बिरामी केन्द्रमा आउने गरेको जानकारी दिनुभयो । यस्तै, जिल्ला अस्पतालमा रहेको आँखा उपचार कक्षमा पनि दैनिक आँखा पाकेर आउने बिरामीको सङ्ख्या धेरै छ ।
आँखा सहायक अस्मिता लामिछानेका अनुसार दैनिक १२ देखि १५ जना बिरामी आँखा पाक्ने समस्या लिएर आउने गरेका छन् । यस्तै, चापाकोट नगर अस्पतालमा रहेको आँखा उपचार कक्षमा पनि बिरामीको समस्या दैनिक बढिरहेको छ । अस्पतालमा आउने आँखाको समस्यामध्ये आधाभन्दा धेरै आँखा पाक्ने समस्या लिएर आउने गरेका नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बिन्दु कोइरालाले जानकारी दिनुभयो ।
अस्पतालमा दैनिक ३० भन्दा धेरै बिरामी आँखाको समस्या लिएर आउने गरेका कोइरालाको भनाइ छ । आँखा पाक्ने समस्याको उपचारका लागि विद्यालयमा अध्ययनरत बालबालिका, युवा तथा प्रौढहरू बढी आउने गरेको स्वतथ्यकर्मीको भनाइ छ ।
भिडभाड हुने स्थानबाट भाइरसको सङ्क्रमण छिटो फैलिने भएकाले ज्येष्ठ नागरिकभन्दा बालबालिका, युवा तथा प्रौढ समूहमा सङ्क्रमण बढी देखिएको छ । सङ्क्रमण हुँदा आँखा रातो हुने, चिलाउने, आँसु बगिरहने, कचेरा आउने, परेला सुन्निने, आँखा बिझाउने, दुख्ने, उज्यालोमा हेर्न गाह्रो हुने, दृष्टि धमिलो हुनेजस्ता लक्षण देखिने जिल्ला आँखा उपचार केन्द्र वालिङका प्रमुख गुरुङले बताउनुभयो ।
‘एडिनो भाइरस’ सङ्क्रमण निश्चित समयसम्म रहने भएपनि केहीलाई भने जटिल बनेर आँखाको नानीमा समेत असर गर्न सक्ने भएकाले लक्षण देखिएमा तुरुन्त आँखा अस्पतालमा परीक्षण गराउन उहाँको आग्रह छ ।
रोगबाट बच्न आँखाबाट निस्किने आँसु, चिप्रा लाग्ने हुँदा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा हात वा अन्य कुनै माध्यमले आँखामा पुग्दा सङ्क्रमण सर्नसक्ने भएकाले सङ्क्रमित व्यक्ति वा घरबाहिर गएर फर्केका स्वस्थ व्यक्तिले हात नियमित रूपमा साबुनपानीले हात धुन स्वास्थ्यकर्मीको सुझाव छ । बिरामीको आँखालाई सिधा आँखाले नहेर्न, सङ्क्रमण भएका बेला तौलिया, रुमाल, लुगाफाटो, मेकअपका सामान अरूलाई प्रयोग गर्न नदिन, सरसफाइमा ख्याल गर्न गुरुङले आग्रह गर्नुभयो ।
विद्यार्थीहरूमा आँखा पाक्ने समस्या देखिएमा उनीहरूलाई छुट्टै राख्ने वा घरमा नै आराम गर्न लगाउनु पर्ने उहाँको भनाइ छ ।