• २० असोज २०८१, आइतबार

‘गणितको समस्याले सरकार अस्थिर’

blog

विराटनगर समाचारदाता 

विराटनगर, साउन २३ गते । कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएपछि पूर्ण गतिका साथ अगाडि बढ्ने बताउनुभयो । कोशी प्रदेश सरकार अहिले पनि काम चलाउ अवस्थामा नै रहेको सन्दर्भ जोड्दै उहाँले यस्तो बताउनुभएको हो । 

उहाँले गणितको समस्याले कोशी प्रदेश सरकार अस्थिर भइरहेकाले स्थिर बनाएर विकासतर्फ अगाडि बढाउन सबै दलको सहयोग आवश्यक परेको बताउनुभयो । सरकार अस्थिर हुँदा जनताले सेवासुविधा पाउन नसक्ने भएकाले राजनीतिक दल जिम्मेवार बन्नुपर्ने भन्दै सरकारलाई सहयोग गर्न उहाँको आग्रह छ ।   

डेङ्गु नियन्त्रण गर्न पहल 

मुख्यमन्त्री थापाले सुनसरीको धरान र मोरङको विराटनगरलगायतका क्षेत्रमा फैलिरहेको डेङ्गु नियन्त्रण गर्न स्वास्थ्य मन्त्रालयमार्फत थप पहल गर्ने तयारी गरिएको बताउनुभयो । मुख्यमन्त्री थापाले कोशी अस्पतालमा डेङ्गुका बिरामीको उपचार प्रबन्ध मिलाएको बताउनुभयो । 

उहाँले पशुमा महामारीका रूपमा फैलिएको ‘लम्पी स्किन’ रोगबाट कोशी प्रदेशमा छ हजारभन्दा बढी पशुको मृत्यु भइसकेको बताउनुभयो । थप क्षति रोक्न एक करोड रुपियाँ बराबरको भ्याक्सिन खरिद गर्ने निर्णय गरी टेन्डरको प्रव्रिmया अगाडि बढाएको उहाँले जानकारी दिनुभयो । 

नगरपालिकालाई दमकल 

विपत् प्रतिकार्यमा प्रयोग गर्न प्रदेश सरकारले ताप्लेजुङको फुङ्लिङ नगरपालिकालाई एक थान दमकल र एउटा पिकअप भ्यान हस्तान्तरण गरेको छ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाले नगरपालिकाका प्रमुख अमिर मादेन र उपप्रमुख हिमादेवी ओझालाई दमकल र पिकअप भ्यानको  ब्लु बुक हस्तान्तरण गर्नुभएको हो । 

आगलागी तथा अन्य विपत् प्रतिकार्यका लागि प्रदेश सरकारले मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्र स्थापना गरी आवश्यक औजार, उपकरण र सामग्रीको व्यवस्थापन गर्दै आएको छ । सोही व्रmममा सरकारले ताप्लेजुङमा यी उपकरण र सवारीसाधन उपलब्ध गराएको हो । 

कोशी प्रदेश सरकारले प्रदेशका सबै जिल्लामा कम्तीमा एउटा नगरपालिकामा अत्यावश्यक सेवा केन्द्र स्थापना गरी सञ्चालन गर्ने निर्णय गरेको थियो । ताप्लेजुङलाई दमकल र पिकअप भ्यान उपलब्ध गराएपछि अब सोलुखुम्बु जिल्लामा मात्र यस्तो केन्द्र निर्माण गर्न बाँकी रहेको छ । सरकारले सोलुखुम्बु जिल्लाको सोताङ गाउँपालिकामा केन्द्र स्थापना गर्ने निर्णय असार १३ गतेको बैठकले गरिसकेको छ । 

कोशी प्रदेशका १३ जिल्लामा बाहेक थप चार स्थानीय तहमा दमकल र पिकअप भ्यानसहित अत्यावश्यक सेवा केन्द्र विस्तार गरेको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयले आर्थिक वर्ष २०७६/७७ मा १२ वटा जिल्लामा एकै पटक सेवा केन्द्र स्थापना गरी दमकल र पिकअप भ्यान प्रदान गरेको थियो । 

सोमबार मन्त्रालयले ७३ लाख ५० हजार रुपियाँ मूल्य पर्ने आधुनिक अग्नि नियन्त्रक (दमकल) र दुई वर्षअगाडि खरिद गरेको पिकअप भ्यान फुङ्लिङ नगरपालिकालाई दिएको हो । 

कोशी प्रदेश सरकारले जोखिम न्यूनीकरण, नियन्त्रण र प्रतिकार्यका लागि स्थानीय तहहरूलाई विपत् कोषमा रकमसमेत सहयोग गर्दै आएको जानकारी दिएको छ । प्रदेश सरकारले विपत्का विभिन्न ७२ क्षेत्रमा काम गरिरहेको मन्त्रालयका उपसचिव अर्जुन निरौलाले जानकारी दिनुभयो । 

मुख्यमन्त्री उद्धव थापाले प्रदेशले विपत्का ठुला चुनौती बेहोर्दै आएको र अझ ठुला विपत्का घटना हुन सक्ने भएकाले पूर्व तयारीमा जोड दिनुपर्ने बताउनुभयो । सरकारले विपत् न्यूनीकरण गर्न पूर्ण रूपमा ध्यान दिने भन्दै जनतासँग सरोकार राख्ने हरेक विषयमा तदारुकताका साथ काम अगाडि बढाउन सबै मन्त्रालयलाई निर्देशन दिएको बताउनुभयो ।