• २० असोज २०८१, आइतबार

पानी माग्दै उपभोक्ताले लगाए खानेपानी कार्यालयमा ताला

blog

कोकिला ढकाल

इलाम, साउन २३ गते । इलाम बजारका उपभोक्ताले दुई सातादेखि धारामा पानी नझरेपछि इलाम बजार सहरी खानेपानी आयोजनाको कार्यालयमा तालाबन्दी गरेका छन् । 

बजारको माथिल्लो क्षेत्रका उपभोक्ताले पानी नआएकोबारे पटक–पटक ध्यानाकर्षण गर्दा पनि बेवास्ता गरिएपछि कार्यालयमा तालाबन्दी गर्नुपरेको बताएका छन् । बजारको वडा ६, शिखर नगर आसपासका करिब दुई दर्जन घरमा दुई सातायता पानी नआएको उपभोक्ता गोपाल नेपालले बताउनुभयो । ‘१५ दिनदेखि धारामा पानी नआएर पटक–पटक ध्यानाकर्षण गर्दा पनि हाम्रो गुनासो कसैले सुनेन,’ उहाँले भन्नभयो, ‘उपभोक्ताले बाध्य भएर कार्यालयमै तालाबन्दी गरेको बताएका छन् ।’

कार्यालयको तल्लो भेगतिर पाइप फुटेर पानी छ्यालब्याल भइरहँदा नजिकै आफूहरू काकाकुल हुनुपरेको उपभोक्ता बताउँछन् । उहाँहरूले तुरुन्त आफूहरूको धारामा पानी नआए आन्दोलनका थप कार्यक्रमसमेत घोषणा गर्ने चेतावनी दिएका छन् ।

इलाम बजारलाई लक्षित गरी एसियाली विकास बैङ्क (एडिबी)को मुख्य लगानीमा करिब ५४ करोड रुपैयाँ लगानीको खानेपानी आयोजना निर्माणाधीन छ । इलाम नगरपालिकाले पुरानो लाइन कटाएर यही आयोजनाको पानी वितरण गरी महसुलसमेत उठाइरहेको छ । तर, कतै पानीको चरम अभाव भइरहँदा कतै भने पानी बढी भएर पाइप फुटेपछि त्यसैका कारण क्षतिसमेत भइरहेको छ ।